मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

गोपाल हमाल

कोहलपुर नगरपालिका

वीरगञ्ज महानगरपालिका

बान्नीगढी जयगढ गाउँपालिका

वडाध्यक्ष

विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग

Mayorsap

शुक्र, पौष १९, २०८१ | ०९:०५ बजे

टीकापुर । सपना विककी आमा सेतु विक छोरीले वडा कार्यालयबाट साइकल पाएपछि मक्ख छिन् ।  अर्थाभावले छोरीलाई साइकल किन्न अक्षम सेतुको समस्या वडा कार्यालयले टारिदिएपछि आमाछोरी दङ्गादङ्गीमा छन् ।

 

कक्षा ९ मा त्रिभुवन माध्यमिक विद्यालय वसन्तामा अध्ययनरत सपनाको रहर पूरा भएको छ । “अरु साथीहरु साइकल चढेर विद्यालय गएको देख्थे, मेरो पनि भइदिए हुन्थ्योजस्तो लाग्थ्यो”, सपना भन्छिन्, “अब साथीहरुसँगै म पनि लैजान्छु ।”

 

टीकापुर नगरपालिका–४ ले वडामा रहेका १८ जना छात्रालाई साइकल किनिदिएपछि अन्य छात्रा पनि यस्तै सोचिरहेका छन् । साइकल पाएपछि छात्रा मात्र होइन उनीहरुका अभिभावक पनि खुसी भएका छन् । रुपा चौधरीकी आमा शिला चौधरी पनि छोरीले साइकल पाएपछि खुसी भएकी छन् । “छोरी आधा घण्टा बढी समय हिँडेर विद्यालय जान्थिन”, शिलाले भनिन्, “पढाइमा राम्रो नतिजा ल्याउने छोरीको आवश्यकता साइकल भए पनि किनिदिन सकेका थिएनौँ ।”

 

हीराकुमारी डगौरा थारुकी छोरी आयुषा चौधरी सरस्वती मावि वनगाउँमा अध्ययन गर्छिन्। घरबाट विद्यालय पुग्न आधा घण्टा बढी समय लाग्ने भए पनि आयुषा नियमित विद्यालय उपस्थित हुन्थिन् । “मलाई कहिलेकाहीँ ढिला हुन्थ्यो, ढिलो भएको दिन आमा आज नजा भन्नुहुन्छ, तर म मान्दिनथेँ”, आयुषाले भनिन्, “अब साइकलमा २० मिनेटमै पुग्छु, समय पनि बचत हुन्छ । आमालाई पनि घरको काममा सघाउन भ्याउँछु ।”

 

कक्षा ११ मा अध्ययनरत सन्ध्या चौधरीलाई पनि क्याम्पस जान समस्या हुन्थ्यो । “बिहान ६ बजे कलेजका लागि हिँड्नुपर्ने भएकाले समस्या थियो”, उनले भनिन्, “अब सजिलो भएको छ । आजदेखि कलेज साइकलमा जान्छु ।” टीकापुर नगरपालिका– ४ ले कक्षा ९ देखि १२ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार छात्रालाई साइकल वितरण गरेको हो । वडाले साइकल नभएर टाढा विद्यालय हिँडेर जान बाध्य छोरीहरुको शैक्षिक विकासका सहयोग होस् भनी साइकल वितरण गरेको जनाएको छ ।

 

वडाध्यक्ष लालविर चौधरीले समाज निर्माणमा ठूलो भूमिका महिलाको हुने भएकाले महिला शिक्षित हुनुपर्छ भनेर छोरीलाई अघि बढाउन र स्थानीय सरकार भएको आभाष गराउन साइकल दिएको बताए । “यति धेरै समस्या र गरिबी भएर पनि छोरीहरु पढाइमा अब्बल छन्”, उनले भने, “यस्ता छोरीहरुको सहयोगी सरकार बन्नुपर्छ भनी यो सहयोग गरेका हौं ।”

 

वडाले रु एक लाख ६० हजार बजेटमा १८ साइकल वितरण ग¥यो । साइकलका लागि ६० बालिकाको निवेदन परेको थियो । जसमा विपन्न र जेहेन्दारलाई प्राथमिकता दिइएको बताइएको छ । कार्यपालिका सदस्य रुपमति डगौराले छात्राहरुको विद्यालयमा पहुँच वृद्धि गर्न साइकलले मद्दत पुग्ने बताइन् । “लगनशील भएर पढ्नुहोला”, उनले भनिन्, “राम्रो पढ्नलाई आर्थिक समस्याले पछि पार्दैन, नगरपालिकाले विपन्न, पढाइमा लगनशील विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको छ ।”

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology