रामेछापकाे लिखु खाेलामा उमाकुण्ड गाउँपालिकाले लगायो नदीजन्य पदार्थ उत्खननमा रोक
नियम उल्लङ्घन गरेको पाइएमा जरिवाना हुने
Mayorsap
शुक्र, पौष १९, २०८१ | १०:४६ बजे
रामेछाप । लिखु खोलामा सञ्चालित जलविद्युत आयोजनाले जथाभाबी रूपमा नदीजन्य पदार्थ ढुङ्गा र बालुवा उत्खनन गरी वातावरणलाई प्रभाव पारेपछि रामेछापको उमाकुण्ड गाउँपालिकाले लिखु खोलामा नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ ।
गाउँ कार्यपालिकाको पुस १५ गते बसेको बैठकले गाउँपालिका अन्तर्गत लिखु नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा बिक्री वितरणको लागी आइइई, इआइए प्रतिवेदन तयार नहुँदासम्म उत्खननको काममा रोक लगाउने निर्णय गरेको छ ।
त्यसको लागि तत्काल प्रक्रिया अगाडी बढाइ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २ (७७) बमोजिम ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरण कार्य गरिने भएकोले सो कार्य पुरा नभए सम्मको लागि लिखु नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय भएको हो ।
सो सूचनाको उल्लङ्घन गरी ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरण गरेको पाइएमा बागमती प्रदेश सरकारको आर्थिक ऐन २ (८१) बमोजिम जरिवाना हुने कार्यालयले जनाएको छ ।
लिखु नदीमा दुगड ग्रुपले सञ्चालन गरेको विभिन्न जलविद्युत आयोजनाले सो क्षेत्रमा प्राकृतिक श्रोतको कानुन विपरीत दोहन गरेको छ ।
नदीको पानी सुकाएर ड्याममा पानी फर्काउँदा लिखुका जलचर नष्ट भएका छन् भने गौरीशंकर आरक्षण क्षेत्रका जङ्गली जनावर पानी पिउनबाट समेत वञ्चित भएका छन् ।