Ad Image

विराटनगर महानगरको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै

User Image Mayorsap | ४ महिना अगाडि
Image of storage/news/1736094598.jpeg

मोरङ । विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौँ अधिवेशन आज सम्पन्न भएको छ । महानगरपालिकाका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा भएको नगरसभा अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८१/८२ का लागि संशोधित आय–व्यय प्रस्तुत गरिन्। उनले चालु आर्थिक वर्षको पुस १५ गतेसम्म रु एक अर्ब २२ करोड ४८ लाख तीन हजार अर्थात् ३५ प्रतिशत मात्रै यथार्थ आय भएको बताइन् । चालु आर्थिक वर्षका लागि रु तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार आय अनुमान गरिएको थियो ।

 

त्यस्तै, रु तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार कुल व्यय अनुमान गरिएकामा पुस १५ गतेसम्म रु ६९ करोड ५४ लाख ३८ हजार अर्थात् १९ दशमलव ८७ प्रतिशत मात्रै खर्च भएको छ । उक्त खर्चमध्ये रु १४ करोड ४० लाख ६३ हजार पुँजीगत र रु ५५ करोड १३ लाख ७५ हजार प्रशासनिक एवं चालुतर्फ खर्च भएको उपप्रमुख कार्कीले प्रस्तुत गरेको संशोधित आयव्ययमा उल्लेख छ ।

 

त्यसैगरी, रु एक अर्ब १० करोड ७९ लाख १० हजार आन्तरिक आय अनुमान गरिएकामा चालु आर्थिक वर्षको साउनदेखि पुस १५ गतेसम्म रु २३ करोड ३५ लाख ९७ हजार अर्थात् २१ दशमलव ०८ प्रतिशत मात्र सङ्कलन भएको छ ।

 

त्यस्तै, राजस्व बाँडफाँडबाट प्राप्त राजस्वतर्फ प्रदेश सरकार सवारीसाधन कर, घरजग्गा रजिष्ट्रेसन दस्तुर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क गरी कुल रु ८३ करोड ५४ लाख ७४ हजार अनुमान गरिएकामा रु १६ करोड ३४ लाख ७६ हजार अर्थात् १९ दशमलव ५६ प्रतिशत रकम प्राप्त भएको उपप्रमुख कार्कीले पन्ध्रौँ नगरसभामा संशोधित बजेट तथा कार्यक्रममा उल्लेख गरेकी छन् ।

 

अन्तरसरकारी वित्तीय हस्तान्तरण सङ्घीय सरकारतर्फ रु एक अर्ब २२ करोड १० लाख ७५ हजार अनुमान गरिएकामा रु ६७ करोड ९२ लाख ७२ हजार अर्थात् ५५ दशमलव ६२ प्रतिशत अनुदान प्राप्त भएको छ । प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ आठ करोड ३९ लाख ७२ हजार प्राप्त हुने अनुमान गरिएकामा रु दुई करोड ५७ लाख १६ हजार प्राप्त भएको छ । सो अवसरमा प्रमुख नागेश कोइरालाले सीमित स्रोत र साधनबाट विराटनगरवासीको असीमित आवश्यकता परिपूर्ति गर्नु चुनौती देखिएको बताए ।