बागलुङ नगरपालिका बालमैत्री घोषणा
Mayorsap
सोम, पौष २२, २०८१ | ११:३५ बजे
बागलुङ । बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१ सूचक पूरा गरेपछि १४ वटा वडा रहेको बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको हो । यसका लागि नगरपालिकाले दुई वर्षयता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झण्डै तीन करोड लगानी गरिसकेको थियो ।
यस अगाडि जिल्लाको गलकोट नगरपालिकालाई बालमैत्री घोषणा गरिएको थियो । नगरपालिकाले चालु आर्थिक वर्षमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा र कार्यक्रमका लागि छुट्याएको एक करोड २५ लाख रुपैयाँको बजेटबाट बालमैत्री विद्यालय भवन निर्माण, खानेपानी, शौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ ।
टोल–टोलमा बालक्लब गठन गर्ने बालबालिकालाई सामाजिक कार्यक्रममा सहभागी गराउने, बालविवाह, बालश्रम अन्त्य गर्ने लगायतका अभियान चलाइएको थियो । नगरपालिकाले गत आर्थिक वर्षमासमेत ४० लाख रुपैयाँ लागतमा नगरका सामुदायिक विद्यालयको शौचालय, खानेपानी तथा बालमैत्री पूर्वाधारमा खर्च गरिसकेको छ । नगरपालिकाले आगामी दिनमा निर्माण गरिने हरेक विकास निर्माणलाई बालमैत्री तरिकाले निर्माण गर्नेछ ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०७८, घोषणा कार्यविधि २०७९ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम बागलुङ नगरपालिकामा २०७९ जेठ ६ गतेदेखि बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरी २०८१ साल पुस मसान्तभित्र बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने निर्णय अनुसार सबै वडा घोषणा गरिएको हो ।
बाल बचाउ, बालसंरक्षण, बालविकास र बालसहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने गरी नगरपालिका बालमैत्री बनाइएको हो ।