लहान नगरपालिकाले गर्यो प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण
Mayorsap
मंगल, पौष २३, २०८१ | १०:१३ बजे
सिरहा । लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका बिरामीलाई लहान नगरपालिकाले ६५ थान कम्बल सहयोग गरेको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख महेशप्रसाद चौधरीले सोमबार ती कम्बल अस्पताललाई प्रदान गरेका हुन् ।
सो अवसरमा उनले गरिब तथा विपन्न बिरामीलाई शीतलहर र चिसोबाट बच्नका लागि कम्बल सहयोग गरेको बताए । उनले भने, “दिनानुदिन चिसो बढ्दै छ, कठ्याङ्ग्रिँदो चिसोले गरिब तथा विपन्न वर्गका बिरामीलाई थप बिरामी पर्नबाट बचाउन सहयोग पुग्छ भन्ने उद्देश्यले कम्बल वितरण गरिएको हो । यसबाट यहाँ बस्ने बिरामीले न्यानोसँग रात काट्नेछन् ।”
शीतलहरको जोखिमले अस्पतालका बिरामीको स्वास्थ्यमा थप समस्या उत्पन्न हुनसक्ने जनाउँदै अस्पतालका प्रमुख डा बिजेन्द्रकुमार यादवले कम्बल वितरणले बिरामीको शारीरिक र मानसिक अवस्थामा राहत पुग्ने विश्वास व्यक्त गरे । उनले स्थानीय तहले गर्नैपर्ने सहयोग अस्पताललाई गरेको आफूहरूले महसुस गरेको बताए। यस अस्पतालमा ६५ शय्या रहेका छन् ।