रवि काठमाडौं जिल्ला अदालतमा हाजिर हुँदै, बुटवलमा पनि मुद्दा दायरको तयारी
स्थलमार्गबाट काठमाडौं आउँदै
Mayorsap
शुक्र, पौष २६, २०८१ | १४:५४ बजे
काठमाडौं । सहकारी ठगी प्रकरणमा पोखरामा धरौटी बुझाएर छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा हाजिर हुँदैछन् । लामिछाने बिहान १० बजे नै स्थलमार्ग हुँदै पोखराबाट हिँडेको रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले बताए । हवाइ मार्गबाटै जाने तयारी भएपनि नेता कार्यकर्ताको ठूलो समूह भएकाले रवि स्थलमार्गबाट काठमाडौं आउन लागेका हुन् । लामिछाने आफैं अदालतमा उपस्थित हुने सर्तमा प्रहरीले उनलाई छाडेको थियो । बिहीबार राति उनी पोखरा नै बसेका थिए ।
लामिछानेविरुद्ध काठमाडौंमा भने कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि मुद्दा दायर भएको छ । गत आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
यसैगरी सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध बुटवलमा पनि मुद्दा दायर हुँदैछ । इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो । रुपन्देहीका एसपी रन्जितसिंह राठौरले प्रतिवेदन बुझाएको पुष्टि गरे । रुपन्देही प्रहरीले आज शुक्रबार मात्रै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको स्रोतले बतायो।
कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए ।