रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित
Mayorsap
आइत, पौष २८, २०८१ | ०९:५४ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीवार साँझ ६५ लाख धरौटी बुझाएर छुटेका थिए । त्यसपछि शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी हाजिर हुन सकेका थिएनन् ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।