थुनछेक बहस स्थगित, रविलाई पठाइयाे न्यायिक हिरासत !
Mayorsap
आइत, पौष २८, २०८१ | १६:१४ बजे
काठमाण्डाै । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा रहेको सहकारी ठगीसम्बन्धी मुद्दामा आज बहस नहुने भएपछि न्यायिक हिरासत पठाइएकाे छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेका हुन्।
उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा राख्ने तयारी छ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान सकिएपछि रविका कानुन व्यवसायी र न्यायाधीशबीच केहीबेर सवालजवाफ चलेको थियो।
रवि पक्षधर कानुन व्यवसायीले बहस नसकिए न्यायिक हिरासतमा नपठाएर आफ्नो वा परिवारको जिम्मा लगाउन माग गरेका थिए। रविका तर्फबाट कानुन व्यवसायीहरू सुशील पन्त र रमन श्रेष्ठ इजलासमा थिए। उनीहरूले रवि ‘भागेको वा प्रहरीले खोजिरहेको अभियुक्त होइन, हाम्रै वा परिवारको जिम्मा लगाइदिन’ आग्रह गरेका थिए।
तर न्यायाधीश अधिकारीले भने इजलासले सबैलाई समान व्यवहार गर्नुपर्ने, कसैलाई छाड्ने र कसैलाई थुन्ने आदेश गर्न नसक्ने बताएका थिए।
रविले पनि बहस आजै सकिदिन वा नभए परिवारकाे जिम्मा लगाइदिन आग्रह गरेका थिए।
यसैबीच सरकारी वकिलले बयान पढ्ने समय मागेपछि आज बहस नहुने भएको हो। आज लामिछानेले आफै उपस्थित भएर अदालतमा बयान दिन गएका थिए।
रवि पक्षका वकिलले आफ्नो वा परिवारको जिम्मा दिन माग गरे पनि उनलाई हिरासत पठाइएकाे हाे।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध दायर भएकाे मुद्दामा रवि अदालत उपस्थित भएका हुन्।
पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौँ अदालतमा आफै उपस्थित हुन पुगेका थिए।