पैसा नतिरेपछि विद्युतकाे लाइन काट्न मेयर यादवको घरमा जाँदा ३ घण्टा थुनिए बिद्युतका कर्मचारी
कांग्रेसका नेताहरू र प्रहरी कर्मचारीहरू चिनेकाे देखाएर यादवले पटक पटक गर्दैछन् गैरकानुनी काम
Mayorsap
मंगल, माघ १, २०८१ | १७:०६ बजे
बारा । महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले विद्युत प्राधिकरणका कर्मचारीहरूलाई तीन घण्टासम्म बन्धक बनाएको खुलेकाे छ।
नगर प्रमुख यादवको नाममा दर्ता भएको विद्युत बक्यौता रकम असुल्न गर्न उनको घर पुगेका विद्युत वितरण केन्द्र कलैयाका चार जना कर्मचारीलाई यादवले नगर प्रहरी परिचालन गरीबन्धक बनाएकाे पीडित कर्मचारीहरूले बताएका छन् ।
विद्युत प्राधिकरणका कर्मचारी सुनिल राय, हृदेश नारायण महतो, गाडी चालक अमिचन महतो र सन्दीप साह सोनारलाई नगर प्रहरीको मद्दतले बन्धक बनाइएको थियो।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई लिखित रूपमा जानकारी गराएपछि प्रहरी परिचालन गरी ती कर्मचारीहरूको उद्धार गरिएको थियाे।
विद्युत प्राधिकरण कलैया स्राेतले दिएकाे जानकारीअनुसार बक्यौता असुल्न यादवको घरमा गएका कर्मचारीहरूलाई नगरपालिकामा नगर प्रहरी लगाएर तीन घण्टासम्म बन्धक बनाइएकाे थियाे । यादवले तिर्न बाँकी रहेको रु. ३,६४,९७४ रकम असुल्न लाइन काट्न जाँदा यस्तो घटना भएको विद्युत प्राधिकरण कलैया स्राेतले जानकारी दियाे ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले घटनाबारे लिखित जानकारी प्राप्त भइसकेको र त्यसबारे छानबिन भइरहेको बताएका छन्। उनले दोषीलाई कानूनी दायरामा ल्याइने प्रतिबद्धता जनाए।
नगर प्रमुख यादवले यसअघि नगर प्रहरी परिचालन गरी आफ्नै वडाध्यक्षलाई कुटपिट गरेको, ट्राफिक प्रहरीले बिना हेल्मेट नगरपालिकाका कर्मचारीलाई रोकेपछि ट्राफिक प्रहरीको चेकिङ पोस्ट तोडफोड गरेको घटनाहरू सार्वजनिक भएका थिए।
यादव यस्ता विवादास्पद गतिविधिबाट बच्न नेपाली कांग्रेसका नेताहरूसँग निकट रहेकाे देखाउन विभिन्न समयमा बरिष्ठ नेताहरूसँग भेटघाट गरिरहेकाे सामाजिक सञ्जालमार्फत देखाउँछन् । उनीमाथि कांग्रेका सहमहामन्त्री फारमुल्ला मन्सुरलाई साथमा लिएर, पार्टीका संघीय सरकारका मन्त्रीहरूसँग सम्बन्ध राख्दै प्रहरी प्रशासनलाई प्रभावमा पार्न खोजेको आरोप लागेको छ।
विद्युत प्राधिकरण, कर्मचारी संघ इकाई समितिले विज्ञप्ति जारी गर्दै कर्मचारीलाई बन्धक बनाएको घटनाका लागि नगर प्रमुख यादवलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
बिहान ११ बजे बन्धक बनाइएका कर्मचारीहरूलाई दिउँसो २ बजे छोडिएको थियो। तीन घण्टासम्म कर्मचारीलाई बन्धक बनाउँदा पनि नगर प्रमुख यादवलाई कुनै कारबाही नगरिएको भन्दै प्राधिकरणका कर्मचारीहरूले आक्रोश व्यक्त गरेका छन्।
यस विषयमा नगर प्रमुख उपेन्द्र यादवसँग सम्पर्क गर्न उनले फोन उठाएनन्। पालिका उपप्रमुखले यस्ताखालका घटना बेलाबेला गर्दै आएकाे बताए ।