मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

अर्थ

कैलारी गाउँपालिका

लालबन्दी नगरपालिका

बीउ

फोहोरमैला व्यवस्थापन

बागलुङ नगरपालिका

गोर्खाज फाइनान्सका अध्यक्ष बुढाथोकीविरुद्ध ९९ संस्थापक शेयरधनी उभिए

सीईओ नियुक्तिमा आर्थिक चलखेलको दाबीसहित उजुरी

Mayorsap

बुध, माघ २, २०८१ | १६:१० बजे

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका अध्यक्ष गौरव बुढाथोकीविरुद्ध ९९ जना संस्थापक शेयरधनी उभिएका छन् । यो संख्या ९९ प्रतिशत रहेको छ । अध्यक्ष बुढाथोकीले गोर्खाज फाइनान्स लिमिटेडलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनविपरित काम गरेर आफूहरूको करोडौंको लगानी डुबाउन खोजेको उनीहरूको आरोप छ ।

 

गत पुस २९ मा बुढाथोकीले ३०औं साधारणसभा बोलाएका थिए । तर, असन्तुष्ट शेयरधनीले विरोधको तयारी गरेको सुइँको पाएपछि बुढाथोकी साधारणसभा छाडेर ‘फरार’ भएका छन् ।


शेयरधनी तथा गोर्खा समुदायका अगुवा पुञ्जन मुकारुङ राईका अनुसार काठमाडौं वसुन्धाराको एक पार्टी प्यालेसमा १० बजे बोलाइएको साधारणसभामा अध्यक्ष बुढाथोकी, निर्देशक नगेन्द्रकुमार अग्रवाल र निलम बोहरा ११ बजेतिर आएका थिए ।


‘शेयरधनी सदस्यहरूले विरोध गर्ने सूचना पाएपछि उहाँ हल छाडेर भागे’, उनले भने । अध्यक्ष बुढाथोकी १२ बजे आउने भनिए पनि कम्पनी सचिव दीपक न्यौपानेले साधारणसभा गणपुरक नपुगेको भन्दै स्थगित गरेको सूचना टाँस गरेको सदस्यहरूले बताएका छन् ।


‘सूचनामा गणपुरक नपुगेको भनेर सूचना टाँस गरियो । संस्थापक शेयरधनी शतप्रतिशत र ८० प्रतिशतभन्दा शेयरधनी उपस्थित थिए । तर, उहाँ फरार हुनुभयो’, शेयरधनी टंकबहादुर लिम्बू भन्छन् ।


‘यो संस्थामा हाम्रो रगत र पसिनाको कमाई राखेका छौं । तर, उनले फाइनान्स डुबाउने प्रयास गरिरहेका छन् । अनेकौं शक्तिको आडमा उनले सोझा लाहुरेहरूको आडमा संस्थाको दुरुपयोग गर्न खोजेका छन् । त्यो गर्न हामी दिन्नौं ’, लिम्बूले भने ।


गोर्खाज फाइनान्समा ७४६ जना संस्थापक शेयरधनी छन् । तीमध्ये ७३७ जना संस्थापक शेयरधनीले विहीबार विज्ञप्ति जारी गरेर अध्यक्ष बुढाथोकी, सञ्चालक समितिका निर्देशक (पब्लिक) नगेन्द्रकुमार अग्रवाल, निर्देशक (पब्लिक) निलम बोहोरा माथि कारवाहीको माग गरेका छन् । ५ मध्ये दुई निर्देशक कल्पना खापुङ र युवराज राई भने साधारणसभामा उपस्थित भएका थिए ।


अध्यक्ष बोहरासहित निर्देशकद्वय अग्रवाल र बोहराले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन विपरित काम गरेको जिकिरसहित कारवाही माग गरिएको छ ।


चुक्ता पुँजी ८६ करोड रहेको गोर्खाज फाइनान्स लिमिटेडमा गोर्खालीहरूको लगानी रहेको छ । यसैगरी झण्डै ६ अर्ब निक्षेप समेत गोर्खाली समुदायको रहेको छ ।

अध्यक्ष गौरव बुढाथोकीको शेयर संख्या जम्मा १९९ कित्ता संचालकद्वय नरेन्द्रकुमार अग्रवालको १४० कित्ता तथा निलम बोहराको १२२ कित्ता रहेको छ । उनीहरू सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरू हुन् ।


सीईओ नियुक्तिमा आर्थिक चलखेलको दाबीसहित उजुरी

 

अध्यक्ष बुढाथोकीले दबाब दिएको भन्दै तत्कालीन सीईओले सन्तोषकुमार घिमिरेले २३ असोज २०८१ मा राजीनामा दिएका थिए । घिमिरेका राजीनामापछि गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालक समितिले नयाँ नियुक्तिका लागि प्रक्रिया अघि बढेको थियो ।


प्रक्रियामा विवाद भएपछि राष्ट्र बैंकमा उजुरीसमेत परेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार गर्न निर्देशनसमेत दिएको थियो । तर, बुढाथोकीले प्रकाशचन्द्र अधिकारीलाई नयाँ सीईओ नियुक्तिको एकतर्फी घोषणा गरेको बताइएको छ ।


बुढाथोकीले १४ पुस २०८१ मा सञ्चालक समितिको बैठक भन्दै एकतर्फीरूपमा प्रकाशचन्द्र अधिकारीलाई सीईओ नियुक्तिको घोषणा गरेको भन्दै बैठकमा सञ्चालक समितिका निर्देशक (प्रमोटर) युवराज राई र निर्देशक (प्रमोटर) कल्पना खापुङले नोट अफ डिसेन्ट लेखेका थिए । पब्लिक तर्फका निर्देशकद्वय नगेन्द्रकुमार अग्रवाल र निलम बोहरा अनुपस्थित थिए । अध्यक्ष बुढाथोकीले बैठकमा उनीहरूको कीर्ते हस्ताक्षर गरेर उपस्थित देखाएको स्रोतको दाबी छ ।


‘विराटनगरमा रहेका अग्रवाल र बोहरालाई पछि दबाबामा परेर कुरियर्समार्फत माइन्युट पठाइयो’, स्रोतले भन्यो ।


कुनै बेला नेपाली कांग्रेसका बागमी प्रदेश सभापति इन्द्र बानियाँको व्यवसायमा लेखापालको जिम्मेवारीमा रहेका उनी बानियाँको नाम बेचेर असुली र अनियमितता मच्चाएको आरोपमा निकालिएका थिए । १० हजार लगानी गरेर गौरव पब्लिक मार्फत गोर्खाज फाइनान्सको अध्यक्ष बनेका छन् । प्रकाशचन्द्र अधिकारीलाई आर्थिक लेनदेन गरेर सीईओ बनाएको भन्दै राष्ट्र बैंकमा उजुरीसमेत परेको छ ।


७४७ संस्थापक शेयरधनीमध्ये ७३७ संस्थापक शेयरधनी भूतपूर्व गोर्खा सैनिक हुन् । उनीहरूले बुढाथोकीलाई कारवाहीको माग गर्दै विज्ञप्ति निकालेका छन् ।


सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले पनि सहकारीमा अपचलन भएको अधिकांश पैसा गोर्खा सैनिकहरूको भएको ठहर गरेको छ । कुनै बेला गोर्खा विकास बैंक लाहुरेहरूको लोभलाग्दो संस्थाको रूपमा सञ्चालनमा थियो । यो बैंकमा बेलायती सेनामा कार्यरत र अवकाश प्राप्त गोर्खाहरू, सिङ्गापुर प्रहरीमा कार्यरत र अवकाश प्राप्त हजारौं लाहुरेले लगानी गरेका थिए ।


तर, राकेश अडुकियाको समूह हाबी भएसँगै बैंक धराशायी बन्न थालेको बताइन्छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology