पाकिस्तानसँग बलियो रक्षा सम्बन्ध बनाउँदै बंगलादेश, भारतलाई कस्तो असर पर्ला ?


इस्लामावाद । पाकिस्तान र बंगलादेशले बलियो रक्षा सम्बन्धको महत्त्वलाई जोड दिएका छन । सैन्य सम्बन्धलाई अझ गहिरो बनाउन दुवै देशको सुरक्षा प्रमुखहरूबीच सम्झौता भएको छ बंगलादेशको सशस्त्र बल डिभिजनका प्रिन्सिपल स्टाफ अफिसर (पीएसओ) लेफ्टिनेन्ट जनरल एस.एम कमर उल हसनको पाकिस्तान भ्रमणका क्रममा यो सम्झौता भएको जनाइएको छ ।
उनले रावलपिण्डीस्थित जनरल हेडक्वार्टर (जीएचक्यू) मा सेना प्रमुख जनरल असिम मुनिरसँग महत्वपूर्ण भेटवार्ता गरेका थिए । सेनाका अनुसार भेटका क्रममा दुई पक्षबीच यस क्षेत्रको सुरक्षा चासो र द्विपक्षीय सैन्य सहयोग अभिवृद्धि गर्ने उपायहरूका बारेमा विस्तृत छलफल भएको थियो।
पाकिस्तानी सेनाका अनुसार दुबै देशले बलियो रक्षा सम्बन्धको महत्त्वलाई जोड दिएका छन । साथै दुई देशहरूबीचको स्थायी साझेदारी, बाह्य प्रभावहरु विरुद्ध प्रभावकारी हुनुपर्छ भन्नेमा पनि सहमत भएका छन । दुई देशबीचको यो सम्झौताले पाकिस्तान र बंगलादेशले आफ्नो सुरक्षा साझेदारीलाई मजबुत बनाउने तयारी गरिरहेको संकेत गरेको टिप्पणी गरिएको छ । दुई देशबीचको यो सम्झौता सुरक्षा र क्षेत्रीय स्थायित्वको दृष्टिकोणबाट महत्वपूर्ण हुनसक्ने जनाइएको छ ।
गत वर्ष अगस्तमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि शेख हसिनाको सरकार ढलेर मोहम्मद युनुस नियुक्त भएदेखि नै ढाका र इस्लामावादबीचको मित्रता गाढा हुँदै गएको देखिन्छ। भारतसँग टाढिँदै गएको बंगलादेश क्रमशः उसैसँग युद्धमार्फत छुटिएको पाकिस्तानसँग भने क्रमशः नजिक हुँदै गएको छ ।
सोही क्रममा गत डिसेम्बरमा कायरोमा भएको सम्मेलनमा दुवै देशका सरकार प्रमुखबीच उच्चस्तरीय भेटवार्ता भएको थियो । सो भेटवार्तामा पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ र युनुसबीच आपसी हितका सबै क्षेत्रमा द्विपक्षीय सहयोग सुधार गर्ने सहमति भएको थियो । चाँडै नै पाकिस्तानका विदेश मन्त्री २४ वर्षपछि बंगलादेशको औपचारिक भ्रमणमा पनि जाँदैछन् ।