पत्रकार सम्मेलन गरी सरकारविरुद्धको रणनीति सार्वजनिक गर्दै विपक्षी दल


काठमाडौं । विपक्षी दलहरूले आज पत्रकार सम्मेलन गर्दैछन् । हिजो गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भएकाले आज गर्न लागिएको हो । आज दिउँसो २ बजे प्रतिपक्षी दलको बैठक बस्ने र ३ बजे संसद भवन भित्रको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
बुधवार बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै हिजो पत्रकार सम्मेलनको आयोजना गर्ने बताएका थिए । तर, अन्तिम समयमा स्थगित भएपछि प्रचण्ड हिजो चितवन पुगेका थिए ।
अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै विपक्षी ६ दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी गरेका थिए । पछिल्लो समय सरकारको आलोचना गर्दै आएका विपक्षीले सत्ता पक्षमै रहेका साना दलहरूको समेत साथ लिएर सरकारविरुद्ध उत्रने रणनीति बनाएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारको कार्यशैली विरुद्ध विपक्षी दल, समाजवादी मोर्चा र मधेश केन्द्रित दलहरूले पनि गतिविधि बढाउन थालेकोले राजनीतिक घटनाक्रमलाई चासोका साथ हेरिएको छ ।
यसअघि माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकमा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी, आम जनता पार्टीका नेताहरू सहभागी भएका थिए ।
सो बैठकले सरकारसँग राख्ने माग र विपक्षी दलहरुको रणनीतिको मस्यौदा तयार पार्न माओवादी केन्द्रका नेता वर्षमान पुन र एकीकृत समाजवादीका नेता बेदुराम भुसाललाई जिम्मेवारी दिएको थियो । त्यसैलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको हो ।