कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्ने विद्युतका २ कर्मचारी पक्राउ
Mayorsap
शनि, माघ ५, २०८१ | २१:४५ बजे
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ । नेपाल प्रेस युनियनको कार्यक्रममा सहभागी भएर फर्किँदै गरेका थापामाथि जामुनबारी चोकमा आक्रमण भएको हो।
आक्रमणबाट उनको निधारमा चोट लागेको छ । झापा प्रहरीका अनुसार थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी–११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई–३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ छन्। उनीहरु नेपाल विद्युत् प्राधिकरणका कर्मचारी हुन् । बा १ झ ६५३ नं को गाडीमा सवार थापामाथि बा १ ञ १८७० मा सवार विद्युत् प्राधिकरणका चालक र सहयोगी कर्मचारीले आक्रमण गरेका थिए ।
निर्माणाधीन पूर्वपश्चिम राजमार्गमा भीआईपी गाडीले ओभरटेक गर्न खोज्दा आक्रमण भएको प्रहरीले बताएको छ । आक्रमणबाट निधारमा चोट लागेका थापा बिर्तासिटी अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।