अखिल क्रान्तिकारीमा जनार्दन शर्मा समूहबाट को को छन् पदाधिकारीका उम्मेदवार ?
Mayorsap
बुध, माघ ९, २०८१ | १८:२८ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ कमिटीका लागि हुने निर्वाचनमा उपमहासचिव जनार्दन शर्मा पक्षले छुट्टै प्यानल बनाएको छ ।
अध्यक्षदेखि सदस्यसम्म शर्मा पक्षले प्यानल खडा गरेको हो । शर्मा समूहबाट अध्यक्षको प्रतिस्पर्धामा हेमन्त राईलाई अघि सारिएको छ । अध्यक्षको उम्मेदवार बनेका राई भोजपुरका हुन् । उनलाई नेता सुदन किराँतीको पनि समर्थन छ ।
उपमहासचिव शर्मा निकट विद्यार्थी नेताले दिएको जानकारी अनुसार सोही समूहबाट अध्यक्षका आकांक्षी रोशन थापामगर महासचिवको उम्मेदवार बनेका छन् ।
मंगलबार अनलाइनबाट गरिएको उम्मेदवार मनोनयनमा खुला उपाध्यक्षतर्फ समिप खरेल, भीष्म चौलागाईं, देवेन्द्र शर्मा र सञ्जय महतोको उम्मेदवार बनेका छन्। समावेशी उपाध्यक्ष पदमा ममता अधिकारी, सन्दीप पुन, शिवम साहू, प्रमेश कँडेल, कृष्ण सुनारले उम्मेदवारी दिएका छन् ।
सोही प्यानलबाट उपमहासचिवमा रविन खम्बु, निर्मला गौतम, भगवान बाँस्तोला, रेशम अधिकारी, प्रेमराज शर्मा, कुन्दन महतो, भुवन सिंह विष्ट लगायत उम्मेदवार छन् ।
२४३ जनाको केन्द्रीय समितिमा पदाधिकारी ३३, सचिवालय सदस्य, केन्द्रीय सदस्य १६२ जनाको लागि निर्वाचन हुनेछ । २३ औं राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वका लागि निर्वाचन मिति १२ माघलाई तोकिएको छ ।
मंगलबार गरिएको उम्मेदवार मनोनयन सूची बिहीबार नै प्रकाशित गरिने विद्यार्थी संगठनका इञ्चार्ज हिमाल शर्माले जानकारी गराए ।