आजबाट बागमती प्रदेशसभाको अधिवेशन
Mayorsap
शुक्र, माघ १८, २०८१ | ११:२४ बजे

काठमाडौँ । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज (शुक्रबार)बाट सुरु भएको छ । ४ महिनापछि बसेको प्रदेश सभाको १५औँ बैठक आज ११ बजेबाट सुरु भएको हो।
गत ३१ वैशाखदेखि सञ्चालन भएको बागमती प्रदेशसभाको बर्खे अधिवेशन असोज ७ गते सकिएको थियो । यस अवधिमा बसेका ३८ वटा बैठकले चारवटा विधेयक पारित गरेको थियो । लामो समयदेखि प्रदेशसभा नराखेको भन्दै विपक्षी दलहरुले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।
बिहीवार बसेको कार्यव्यवस्था परामर्श समितिमा प्रश्न उठाएपछि सम्भावित कार्यसूची हेरफेर गरिएको छ । सरकारले आजको बैठकमा केही विधेयकहरु टेबुल गर्ने तयारी गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राप्रपाले विगतको सहमति कार्यान्वयनमा जोड दिएपछि कार्यसूची संशोधन गरिएको हो ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेको थियो । आजको बैठकमा विधेयकहरु प्रस्तुत नहुने र प्रदेश प्रमुखले पठाएको अधिवेशनको शुभकामना पत्र पढेर सुनाउने, दलका नेताहरुले अधिवेशनबारे शुभकामना दिने कार्यसूची तय भएको प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।