समास्याग्रस्त सहकारीका २८ ठाउँको जग्गा लिलाम हुँदै, सिन्धुलीका मात्रै २० कित्ता लिलामीमा
मेयरसाप डेस्क
|
२०८३ मंसिर ११ गते १०:५०
काठमाडौं । सहकारीमा पैसा बचत गर्नुभएको छ ? बचतकर्ताको रकम फिर्ता गर्न नसकेर समस्याग्रस्त बनेका सहकारीको सम्पत्ति अब लिलाम बिक्री गरिने भएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २८ वटा जग्गा कित्ता बिक्री गर्न ३५ दिने सूचना जारी गरेको छ। सबैभन्दा धेरै जग्गा सिन्धुलीमा छन्, जहाँ एउटै सहकारीको नाममा रहेका २० कित्ता जग्गा लिलाम हुँदैछन्। गोरखा, चितवन, सिन्धुपाल्चोक र ललितपुरका जग्गा पनि बिक्रीमा राखिएका छन्।
तर एउटा महत्त्वपूर्ण कुरा, सूचनामा २८ वटा जग्गा कित्ता उल्लेख भए पनि ती २८ वटा फरक सहकारीका जग्गा होइनन्। सूचीमा मुख्यतः तीनवटा सहकारी संस्थाका जग्गा समावेश छन्।


पहिलो, गोरखाको ‘हाम्रो संसारमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ का दुई कित्ता जग्गा लिलाम हुँदैछन्। यी जग्गा गोरखाको डेरालीचोक र मिर्कोट क्षेत्रमा रहेका छन्।
दोस्रो, ‘श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ का छ कित्ता जग्गा लिलाममा राखिएका छन्। यसका जग्गामध्ये एउटा गोरखाको गोरखकाली क्षेत्रमा, दुईवटा चितवनको नारायणगढ क्षेत्रमा, एउटा ललितपुरको बुङमतीमा र दुईवटा सिन्धुपाल्चोकको मेलम्चीमा रहेका छन्।
र तेस्रो, ‘गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड’ का मात्रै २० कित्ता जग्गा लिलाम बिक्री हुँदैछन्। यी सबै जग्गा सिन्धुली जिल्लामा रहेका छन्। यसरी हेर्दा लिलाममा राखिएका कुल २८ कित्तामध्ये २० कित्ता सिन्धुलीका मात्रै हुन्।
समितिले सार्वजनिक गरेको सूचनामा प्रत्येक जग्गाको कित्ता नम्बर, क्षेत्रफल, जग्गा रहेको स्थान, न्यूनतम मूल्य र जम्मा न्यूनतम रकमसमेत उल्लेख गरिएको छ। इच्छुक व्यक्ति वा संस्थाले तोकिएको न्यूनतम मूल्यभन्दा कम नहुने गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।
यो लिलाम प्रक्रिया किन अघि बढाइएको हो त ?
समितिका अनुसार समस्याग्रस्त सहकारीका ऋणी सदस्य, जमानीकर्ता तथा सञ्चालकहरूले बुझाउनुपर्ने साँवा, ब्याज र हर्जानासहितको ऋण दायित्व तिर्न पटकपटक सूचना प्रकाशित गर्दा पनि फरफारक नगरेपछि उनीहरूको नाममा दर्ता कायम रहेका जग्गा बिक्री गर्न लागिएको हो।
सरकारले समस्याग्रस्त घोषित सहकारी संस्थाको चलअचल सम्पत्ति बिक्री गरेर त्यसबाट प्राप्त रकम बचतकर्ता तथा शेयरधनीलाई फिर्ता गर्ने प्रक्रिया अघि बढाउँदै आएको छ। त्यसैले अहिलेको लिलाम प्रक्रिया पनि सहकारीको दायित्व असुली र बचतकर्ताको रकम फिर्तासँग जोडिएको छ।
अब यी जग्गा कसले किन्छन्, कति मूल्यमा बिक्री हुन्छन् र बिक्रीबाट उठेको रकममध्ये बचतकर्ताले कति फिर्ता पाउँछन् भन्ने मुख्य चासो छ।
Facebook Comments