आइजीपीमा फर्किएलान् दानबहादुर ? फैसला आज ?
मेयरसाप डेस्क
|
२०८३ मंसिर ०९ गते ११:१०
काठमाडौं । नेपाल प्रहरीको नेतृत्व फेरि दानबहादुर कार्कीको हातमा फर्किन्छ कि मनोजकुमार केसी नै आईजीपीका रूपमा निरन्तर रहन्छन् ? यसको फैसला गर्ने प्रक्रियामा सर्वोच्च अदालत प्रवेश गर्दैछ। कार्कीलाई आईजीपीबाट हटाएर मनोजकुमार केसीलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज मंसिर ९ गते अन्तरिम आदेशबारे सुनुवाइ हुँदैछ। सरकार आफ्नो निर्णयको बचाउमा महान्यायाधिवक्तासहित आठ जना सरकारी वकिललाई बहसमा उतार्ने तयारीमा छ।
कार्कीले आफूलाई सुनुवाइको मौका नै नदिई कुनै आधार र कारणबिना गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी गर्दै सर्वोच्चमा रिट दिएका छन्। उनले सरकारको निर्णय बदर गरी आफूलाई पुनः आईजीपीमा बहाली गर्न माग गरेका छन्। साथै, नयाँ आईजीपी मनोजकुमार केसीलाई काम गर्न रोक्ने गरी अन्तरिम आदेश जारी गर्नुपर्ने उनको माग छ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो। उनको स्थानमा डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो। यही निर्णयविरुद्ध कार्की अदालत पुगेका हुन्।
आजको सुनुवाइमा सरकारको तर्फबाट महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलसहित आठ जना सरकारी वकिलले प्रतिरक्षा गर्ने तयारी छ। टोलीमा चार जना नायवमहान्यायाधिवक्ता, वरिष्ठ सहन्यायाधिवक्ता र उपन्यायाधिवक्तासमेत छन्। उनीहरूले सरकारको निर्णयको पक्षमा संविधान, कानुन, सर्वोच्च अदालतका पूर्वनजिर र विगतका अभ्यासलाई आधार बनाएर बहस गर्ने बताइएको छ।
सुनुवाइको प्रारम्भमा कार्कीका कानुन व्यवसायीले आफ्नो पक्ष राख्नेछन्। त्यसपछि सरकारी वकिलले सरकारको निर्णयको बचाउमा बहस गर्नेछन्। यसअघि मंसिर ७ गते न्यायाधीशद्वय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको थियो। तर, नवनियुक्त आईजीपी मनोजकुमार केसीले अदालतको म्याद बुझेको प्रमाण पेस नभएको विषय उठेपछि सुनुवाइ अघि बढ्न सकेन र आजका लागि पेसी तोकिएको थियो।
यसपटक मुद्दाको सुनुवाइ न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा हुँदैछ। यही रिटमा यसअघि न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो।
अब दुवै पक्षको बहसपछि सर्वोच्चले केसीलाई आईजीपीका रूपमा काम गर्न रोक्ने अन्तरिम आदेश दिन्छ कि दिँदैन भन्ने टुंगो लाग्नेछ। अहिलेको सुनुवाइले प्रहरी नेतृत्वको तत्कालीन अवस्था निर्धारण गर्नेछ भने कार्कीको पुनर्बहालीसम्बन्धी मूल विवादको अन्तिम टुंगो भने मुद्दाको अन्तिम फैसलाबाट लाग्नेछ।
Facebook Comments