बाढी पिडितलाई घरभाडा ! खातामै महिनाको १५ हजार!

User Image मेयरसाप डेस्क | २०८३ मंसिर ०९ गते ०९:१२
Image of https://mayorsap.com/storage/photos/shares/Bhotekosi-badi.jpg

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाका ९७० परिवारको बैंक खातामा सरकारले घरभाडाबापतको रकम पठाउन सुरु गरेको छ। 

विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठका अनुसार सुरुमा वडा नम्बर १० वेत्रावतीसहित आसपासका प्रभावित परिवारलाई रकम वितरण गरिएको थियो । अहिले प्रभावित सबै वडामा वितरणको काम अघि बढाइएको छ । लाभग्राहीको विवरण अद्यावधिक गर्ने क्रम पनि जारी रहेकाले पहिचान भएका सबै परिवारलाई छिटो रकम उपलब्ध गराउने प्रयास भइरहेको नगरपालिकाले जनाएको छ ।

सरकारको घोषणाअनुसार चार जनासम्म सदस्य भएको परिवारले प्रतिमहिना १५ हजार रुपैयाँ पाउनेछ । चार जनाभन्दा बढी सदस्य भएमा प्रत्येक थप सदस्यका लागि थप दुई हजार रुपैयाँ दिइने व्यवस्था छ । यो सहयोग कम्तीमा छ महिनासम्म उपलब्ध गराउने घोषणा गरिएको छ ।

यसअघि विदुर नगरपालिकाको भदौ २० गते बसेको नगर कार्यपालिकाको बैठकले आश्रयस्थल छाडेर घरभाडामा बस्न चाहने बाढी प्रभावित परिवारलाई मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसपछि संघीय सरकारले पनि घरभाडा सहयोग दिने घोषणा गरेसँगै दोहोरो भुक्तानी नहुने गरी अहिले रकम वितरण सुरु गरिएको हो ।

विदुर नगरपालिकामा बाढी प्रभावित एक हजार ७८६ परिवार लाभग्राही कायम भएका छन् । तर अहिले ९७० परिवारको बैंक खातामा मात्रै रकम पठाउन थालिएको छ । बाँकी परिवारको विवरण प्रमाणीकरण र अद्यावधिक गर्ने काम भइरहेको नगर उपप्रमुख प्रभा बोगटीले बताएकी छन् । केही परिवार लाभग्राही सूचीमा छुटेको गुनासो पनि आएकाले संख्या थपघट हुन सक्ने बताइएको छ ।

बाढी प्रभावितलाई घरभाडामा बस्न आवश्यक पर्ने लत्ताकपडा, भाँडाकुँडा, सरसफाइका सामग्रीलगायत बन्दोबस्तीका सामान भने नगरपालिकाले सामाजिक संघसंस्थासँगको सहकार्यमा यसअघि नै राहतस्वरूप उपलब्ध गराउँदै आएको छ ।

यता नुवाकोटकै बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा पनि घरभाडा रकम वितरणका लागि लाभग्राही पहिचानको काम अन्तिम चरणमा पुगेको छ । ती स्थानीय तहले लाभग्राही यकिन भएपछि रकम वितरण सुरु गर्ने जनाएका छन् ।


Facebook Comments