६० एसपीको एकैपटक सरुवा, कसले पाए महत्वपूर्ण कमान्ड?

User Image मेयरसाप डेस्क | २०८३ मंसिर ०९ गते ०९:३६
Image of https://mayorsap.com/storage/photos/shares/police_3.jpg

काठमाण्डौं । नेपाल प्रहरीमा लामो समयदेखि रोकिएको एसपी तहको सरुवा प्रक्रिया एकैपटक अघि बढेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार राति ६० जना प्रहरी उपरीक्षकको सरुवा गरेसँगै संगठनभित्र नयाँ जिम्मेवारी र नेतृत्वको चर्चा सुरु भएको छ। 

यसपटकको सरुवामा रुपन्देहीका एसपी जनकबहादुर शाही र झापाकी एसपी बसन्धुरा खड्का भने यथावत् छन्। उनीहरू सरुवा भएको १० महिना मात्रै भएकाले यसपटक नचलाइएको बताइएको छ।

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले नेतृत्व सम्हालेपछि लामो समयदेखि रोकिएको सरुवा प्रक्रिया अघि बढाएका हुन्। यसअघि पूर्वआईजीपी दानबहादुर कार्कीको कार्यकालमा एसपीहरूको नियमित सरुवा रोकिएको थियो।

यसपटकको सरुवामा केही अधिकृतले महत्त्वपूर्ण जिल्लाको कमान्ड पाएका छन्। भरत लामालाई धादिङ जिल्ला प्रहरी कार्यालयको प्रमुख बनाइएको छ। आईजीपी केसीसँग सीआईबीमा काम गरिसकेका लामाले अब धादिङको सुरक्षा कमान्ड सम्हाल्नेछन्।

बाँकेमा १४ महिनादेखि कार्यरत एसपी अंगुर जीसीलाई साइबर ब्यूरोमा सरुवा गरिएको छ। आईजीपी सचिवालयमा रहेका धर्मराज भण्डारीले उदयपुर जिल्ला प्रहरी कार्यालयको नेतृत्व पाएका छन्। त्यस्तै, नवलपरासी पूर्वबाट यादव ढकाल कैलाली जिल्ला प्रहरी कार्यालयको प्रमुखमा पुगेका छन्।

तर, सबै अधिकृतले जिल्ला प्रहरी कार्यालयको नेतृत्व पाएका छैनन्। एसपी भेषराज रिजालको सरुवा पनि यसपटक चर्चामा छ। पूर्वआईजीपी दानबहादुर कार्कीले दुई महिनामै धादिङबाट फिर्ता बोलाएका रिजाललाई यसपटक पनि कुनै जिल्ला प्रहरी कार्यालयको प्रमुख बनाइएको छैन।

यसअघि सरुवामा अपारदर्शिता र पहुँचका आधारमा जिम्मेवारी दिइने गरेको गुनासो उठेपछि डीआईजी राजेन्द्रप्रसाद भट्टको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो। समितिले अधिकृतहरूको योग्यता, क्षमता, दक्षता र कार्यसम्पादनका आधारमा जिम्मेवारी सिफारिस गरेको प्रहरी प्रधान कार्यालयको भनाइ छ।

आईजीपी केसीले सरुवा प्रक्रियालाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउन निर्देशन दिएपछि यो प्रक्रिया अघि बढाइएको बताइएको छ। ६० जना एसपीको सरुवामा कहाँ कहाँ भयाे भन्ने लिष्ट यस्ताे छ ।


Facebook Comments