फेरि भड्किए ट्रम्प, भारतसहित १४ देश निशानामा!
मेयरसाप डेस्क
|
२०८३ मंसिर १० गते ११:३०
एजेन्सी । चीन पुगेर सी जिनपिङ र भ्लादिमिर पुटिनसँग एउटै टेबलमा बसेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि व्यापार युद्धको मोर्चामा उत्रिएका छन्। विश्वका तीन शक्तिशाली नेताबीचको भेटपछि अमेरिका–चीन व्यापार तनाव मत्थर हुने अपेक्षा गरिएको थियो। तर ट्रम्प प्रशासनले भारत, चीन, जापान र युरोपेली संघसहित १४ प्रमुख व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लगाउने प्रस्ताव अघि सारेको छ। कतिपय देशका वस्तुमा २० देखि ३५ प्रतिशतसम्म शुल्क प्रस्ताव गरिएको छ भने चीनमाथिको शुल्क भविष्यमा ४० प्रतिशतसम्म पुग्न सक्ने चेतावनी छ।
गत नोभेम्बर १९ मा चीनको सेन्जेनमा अमेरिकी राष्ट्रपति ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच त्रिपक्षीय भेटवार्ता भएको थियो। त्यसअघि ट्रम्प र सीबीच पनि द्विपक्षीय छलफल भएको थियो। तर भेटवार्ताले व्यापारिक तनाव पूर्ण रूपमा अन्त्य गर्ने कुनै नयाँ सहमति ल्याएन। बरु अमेरिका फर्किएका ट्रम्पले १४ व्यापारिक साझेदारमाथि भन्सार शुल्क थप बढाउन लगाएका छन् ।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालयका अनुसार चीन, भारत, जापान, दक्षिण कोरिया, भियतनाम, बंगलादेश, ताइवान, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड र युरोपेली संघ यस प्रस्तावबाट प्रभावित हुनेछन्।
चीनबाट आयात हुने वस्तुमा २० प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउने प्रस्ताव छ। तर अमेरिका र चीनबीचको अस्थायी व्यापारिक सहमति आगामी जनवरी १०, २०२७ मा समाप्त भएर त्यसलाई निरन्तरता नदिइए शुल्क ४० प्रतिशतसम्म पुग्न सक्ने प्रस्तावमा उल्लेख छ।
भियतनामका लागि ३५ प्रतिशतसम्म शुल्क प्रस्ताव गरिएको छ। व्यापार सम्झौता भएमा भने यो दर २० प्रतिशतमा सीमित हुन सक्नेछ। भारतका वस्तुमा २५ प्रतिशतसम्म शुल्क प्रस्ताव छ। भारतसँग व्यापार सम्झौता भएमा १७ प्रतिशतको दर लागू गर्ने विकल्प पनि खुला राखिएको छ।
त्यस्तै, बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, मलेसिया र थाइल्यान्डका वस्तुमा १८ प्रतिशतसम्म शुल्क प्रस्ताव गरिएको छ। जापान, दक्षिण कोरिया, ताइवान, स्विट्जरल्यान्ड र युरोपेली संघका लागि १५ प्रतिशतसम्मको दर प्रस्ताव छ। सिंगापुरका लागि भने २० प्रतिशतसम्म शुल्क प्रस्ताव गरिएको छ।
अमेरिकाले यस्तो कदम चाल्नुको कारण पनि सार्वजनिक गरेको छ। अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरका अनुसार यी देशले लामो समयदेखि उत्पादन क्षेत्रलाई लक्षित गर्ने औद्योगिक नीति, न्यून ज्याला तथा श्रम लागत, सरकारी आर्थिक सहयोग र बजारलाई प्रभावित पार्ने अभ्यास अपनाउँदै आएका छन्। यस्ता नीतिले विदेशी उत्पादकलाई फाइदा पुर्याएर अमेरिकी उद्योग र कामदारलाई कमजोर बनाएको अमेरिकी प्रशासनको आरोप छ।
अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले प्रस्तावमाथि सार्वजनिक टिप्पणी र सुझाव मागेको छ। लिखित सुझाव दिने अन्तिम म्याद जनवरी ५, २०२७ तोकिएको छ भने जनवरी २५ देखि सार्वजनिक सुनुवाइ हुनेछ। त्यसपछि मात्र कार्यान्वयनसम्बन्धी प्रक्रिया अघि बढ्नेछ।
यसको असर अमेरिकाभित्र पनि पर्न सक्छ। विदेशबाट आउने वस्तुमा भन्सार शुल्क बढेपछि आयातकर्ताको लागत बढ्छ। व्यवसायीले त्यो लागत उपभोक्तासम्म पुर्याए सामान महँगिन सक्छ। उत्पादनका लागि विदेशबाट कच्चा पदार्थ ल्याउने अमेरिकी उद्योगसमेत प्रभावित हुन सक्छन्।
युरोपेली संघले पनि प्रस्तावप्रति असहमति जनाएको छ। यसअघि भएको व्यापारिक सहमतिअनुसार युरोपेली वस्तुमा शुल्क १५ प्रतिशतमा सीमित राख्ने व्यवस्था रहेको भन्दै उसले नयाँ प्रस्तावको आधार र औचित्य अध्ययन गर्ने जनाएको छ।
Facebook Comments