१४ प्रहरीको जागिर धरापमा!, को कहाँका प्रहरी?
मेयरसाप डेस्क
|
२०८३ मंसिर १० गते ११:३५
काठमाडौं । लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका १४ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको छ। एक जना प्राविधिक सई, एक जना असईसहित १४ जनालाई आफू गैरहाजिर हुनुको कारण खुलाएर उपस्थित हुन भनिएको हो। नत्र प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कारबाही अघि बढाइने चेतावनी दिइएको छ।
प्रहरी प्रधान कार्यालयको कानुन तथा मानव अधिकार महाशाखाले मंसिर १० गते सार्वजनिक गरेको सूचनामा १४ जनाकै नाम, उनीहरू कार्यरत कार्यालय र स्थायी ठेगानासमेत खुलाइएको छ।
सूचीको पहिलो नम्बरमा प्राविधिक प्रहरी नायव निरीक्षक प्रवीण तामाङ छन्। उनी काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रुममा सूचना प्रविधितर्फ कार्यरत थिए। उनको स्थायी ठेगाना काठमाडौं महानगरपालिका–२० हो।
दोस्रो नम्बरमा प्रहरी सहायक निरीक्षक सविन बाम्पला मगर छन्। उनी काठमाडौंको प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत थिए। उनको स्थायी ठेगाना तनहुँको बन्दीपुर गाउँपालिका–३ हो।
तेस्रो नम्बरमा प्रहरी हवल्दार नेतालाल महतो छन्। उनी पर्साको कारागार सुरक्षा गार्डमा कार्यरत थिए। उनको स्थायी ठेगाना बाराको साविक दोहरी–२, हाल कलैया उपमहानगरपालिका–२ हो।
चौथो नम्बरमा प्राविधिक प्रहरी सहायक हवल्दार ईश्वरचन्द्र कार्की छन्। उनी महाराजगञ्जस्थित नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालाको विषविज्ञान शाखामा कार्यरत थिए। उनको स्थायी ठेगाना दोलखाको तामाकोशी गाउँपालिका–२ हो।
पाँचौँ नम्बरमा प्रहरी सहायक हवल्दार बिन्द्रबहादुर मल्ल छन्। उनी जाजरकोटको कारागार सुरक्षा गार्डमा कार्यरत थिए। उनको स्थायी ठेगाना बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–४ उल्लेख छ।
छैटौँ नम्बरमा प्रहरी जवान खुमबहादुर बस्नेत छन्। उनी इलामको कारागार सुरक्षा गार्डमा कार्यरत थिए। उनको स्थायी ठेगाना संखुवासभाको धर्मदेवी नगरपालिका–८ हो।
सातौँ नम्बरमा प्रहरी जवान सिर्जना बाकाबल छन्। उनी काठमाडौंको रानीबारीस्थित नारायणहिटी सुरक्षा गार्ड गुल्ममा कार्यरत थिइन्। उनको स्थायी ठेगाना पाल्पाको तानसेन नगरपालिका–२० हो।
आठौँ नम्बरमा प्रहरी जवान रूपनारायण केसी छन्। उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखामा कार्यरत थिए। उनको स्थायी ठेगाना मकवानपुरको थाहा नगरपालिका–१ हो।
नवौँ नम्बरमा प्रहरी जवान टुपेन्द्रबहादुर सुनुवार छन्। उनी काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटक प्रहरी कार्यालयमा कार्यरत थिए। उनको स्थायी ठेगाना रामेछापको साविक हिँगुवाङगढी–६, हाल रामेछाप नगरपालिका–४ हो।
दशौँ नम्बरमा प्रहरी जवान लुमकुमारी श्रेष्ठ छन्। उनी सिंहदरबारको मूलगेट नम्बर १ मा रहेको काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणमा कार्यरत थिइन्। उनको स्थायी ठेगाना रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ हो।
एघारौँ नम्बरमा प्राविधिक प्रहरी जवान हरिकुमार सापकोटा छन्। उनी कालीकोटको लालुखोलास्थित प्रहरी चौकीमा सञ्चारतर्फ कार्यरत थिए। उनको स्थायी ठेगाना सुर्खेतको लेकबेंसी नगरपालिका–२ हो।
बाह्रौँ नम्बरमा प्रहरी जवान नवीन सुनार छन्। उनी बैतडी जिल्ला प्रहरी कार्यालयको प्रबन्ध शाखामा कार्यरत थिए। उनको स्थायी ठेगाना कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका हो।
तेह्रौँ नम्बरमा प्रहरी कर्मचारी सागर तामाङ छन्। उनी महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानअन्तर्गत शारीरिक सुगठन तथा खेलकुद शिक्षालयमा कार्यरत थिए। उनको स्थायी ठेगाना रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ हो।
र चौधौँ नम्बरमा जुनु स्याङ्बो लामा छन्। उनी तनहुँको आँबुखैरेनीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत थिइन्। उनको स्थायी ठेगाना सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ हो।
प्रहरी प्रधान कार्यालयले यी सबैलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको चित्तबुझ्दो कारणसहित सम्बन्धित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा उपस्थित हुन भनेको छ।
तोकिएको समयभित्र उपस्थित नभए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) अनुसार कसुरमा नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ।
Facebook Comments