प्रजातान्त्रिक आन्दोलनका योद्धा आङ्देम्बेको ९९ वर्षको उमेरमा निधन
Mayorsap
शुक्र, माघ १८, २०८१ | २०:२० बजे

झापा । प्रजातान्त्रिक आन्दोलनका योद्धा हल्दिबारी–५ निवासी अमृतबहादुर आङ्देम्बेको ९९ वर्षको उमेरमा आज निधन भएको छ ।
विसं १९८२ मा पाँचथरको नवमीडाँडा–८ मा जन्मीएका आङदेम्बेको आज निधन भएको हो । उनी लामो समयदेखि हल्दिबारी–५ (साविक जलथल–९) मा बसोबास गर्दै आएका थिए । नेपाली कांग्रेसले सञ्चालन गरेको मुक्तिसेनाका रूपमा सक्रिय आङ्देम्बे ‘चार सरकार’ का उपनामले चिनिन्थे।
उनले बिपी कोइराला, अग्रज प्रजातान्त्रिक योद्धाहरू भूविक्रम नेम्बाङ, देवान दोर्जे, प्रेमराज आङ्देम्बे, मच्छिन्द्रबहादुर केरूङलगायत नेताहरूको निकटतम रहेर काम गरेका थिए । उनका छोराहरू नरविर, हस्तबहादुर, हर्कबहादुर, विष्णुबहादुर र छोरीहरू टीका र श्रीमाया आङदेम्बे छन् ।
हल्दिबारी–५ का वडाध्यक्ष खड्गबहादुर लावतीका अनुसार शनिबार बिहान ११ बजे निजी निवासबाट शवयात्रा प्रारम्भ भई चारकोशे झाडीस्थित चिहानडाँडामा अन्त्येष्टि गरिने छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले प्रजातन्त्र सेनानी स्व. आङदेम्बेको निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको जनाउँदै शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।