मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

शिक्षा

शिक्षक

राजनीतिक दल

सम्पादकीय

स्वामिकार्तिक खापर गाउँपालिका

भरतपुर महानगरपालिका

निस्दी गाउँपालिका

धार्चे गाउँपालिका

धौलागिरि गाउँपालिकामा वडामै योजना सम्झौता, समय र खर्चको बचत

Mayorsap

शनि, माघ १९, २०८१ | ०९:२७ बजे

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकाले घुम्ती शिविरमार्फत वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ ।

 

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा जान आउन अपायक पर्ने वडा नम्बर ६ मराङमा शुक्रबार र ५ मल्कवाङमा बिहीबार घुम्ती शिविरमार्फत योजना सम्झौता भएको छ । प्रमुख प्रशासकीय अधिकृत मोतीप्रसाद अर्यालले मल्कवाङमा ९ र मराङमा १५ वटा उपभोक्ता समितिसँग योजना सम्झौता भएको बताए । बुधबार वडा नं २ लुलाङमा सात वटा योजनाको उपभोक्ता समितिसँग सम्झौता भएको थियो ।

 

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधिकारीहरूलाई पालिकामा जाने आउने समय, झन्झट हट्नुका साथै व्ययभार घटेको धौलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले बताए । “मराङ, मल्कवाङका बासिन्दालाई मुना पुग्न, काम गर्न र फर्कन उपभोक्तालाई कम्तीमा तीन दिन लाग्ने गर्छ”, उनले भने, “वडामै योजना सम्झौता भएपछि एउटा उपभोक्ता समितिका कम्तीमा तीन जनाको पालिका जाने आउने समय र खर्च बचत भएको हो ।”

 

मराङ र मल्कवाङका बासिन्दालाई धौलागिरिको केन्द्र मुनामा पुग्न मालिकाको केन्द्र दरबाङ धारापानी ताकम हुँदै घुमाउरो यात्रा गर्नुपर्छ । पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ ।

 

पालिकाको केन्द्र र बैंकको शाखा एकै ठाउँमा नहुँदा मल्कवाङ, मराङ र ताकमका सेवाग्राहीलाई झन्झटपूर्ण उल्टो यात्रा गर्नुपर्छ । मराङ र मल्कवाङका उपभोक्तालाई आर्थिक कारोबार गर्न ताकमभन्दा दरबाङमा रहेको बैंकको शाखाबाट सजिलो र पायक पर्छ । उपाध्यक्ष रेशम पुनमगरको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत मोतीप्रसाद अर्याल, योजना अधिकृत हरिहर पनेरू, पूर्वाधार शाखाका लोकेन्द्र रावल, प्रशासनका रमेश पौडेलको टोलीले माघ २३ गते ताकम र २४ गते मुदीमा पुगेर योजना सम्झौता गर्ने समय तालिका बनाएको छ ।

 

वडाका अध्यक्ष, सचिव र जनप्रतिनिधिले सहजीकरण तथा समन्वय गर्नुभएको छ । प्राविधिक टोलीले यसअघिनै योजनाको लागत अनुमान र डिजाइन तयार पारेका थिए । सबै प्रक्रिया पूरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंकको शाखामा गएर खाता खोल्न सिफारिस गरी पेश्की उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

 

योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधिकारीलाई प्राविधिक, लेखा व्यवस्थापन र प्रशासनिक प्रक्रियाका विषयमा परामर्श पनि दिइएको छ । ठूला योजना ठेक्का प्रक्रिया अघि बढाउन र उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने योजना सम्झौतामा तीव्रता दिइएको छ । यस वर्ष धौलागिरि गाउँपालिकाले एक सय २३ वटा योजना कार्यान्वयन गर्दैछ । वडामा पुगेको गाउँपालिकाको टोलीले स्थानीयवासीसँग छलफल, विकास योजनाको अनुगमन पनि गरेको छ । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology