अरुण पूर्वका ९ जिल्लामा बन्दको प्रभावः यातायातका साधन ठप्प


विराटनगर । मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले अरुणपूर्वका ९ जिल्लामा आह्वान गरेको बन्दले सवारी साधन ठप्प भएको छ । समितिले आज र भोलि झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथरमा आह्वान गरेको बन्दको पहिलो दिन आइतबार बिहान राजमार्गमा यात्रुबाहक सवारी साधन चलेका छैनन् । बन्दको सबैभन्दा बढी प्रभाव ताप्लेजुङमा परेको कोशी प्रदेश प्रहरी प्रवक्ता भीम दाहालले बताए । अन्य जिल्लामा भने बन्दको प्रभाव सामान्य मात्र परेको उनले बताए । ‘केही ठाउँमा बन्दकर्ता सडकमा निस्किएका छन्,’ उनले भने,‘ यातायातका साधन केही चलेका छन् ।’
पूर्वपश्चिम राजमार्ग र मेची राजमार्गमा बन्दको प्रभाव बढी छ । दुवै सडकमा यात्रुबाहक बस चलेका छैनन् । ठूला चोकहरूमा बन्दकर्ताहरु भेला भएका छन् । यसैबीच प्रहरी र बन्दकर्ताबीच ठाउँठाउँमा घम्साघम्सी परेको छ । प्रहरीले केही बन्दकर्तालाई पक्राउ गरेको बताइएको छ । केबलकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छाड्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायीक छानविन गर्नुपर्ने, काफ्ले पार्टीबाट सुरक्षा फौज फिर्ता गर्नुपर्नेलगायत माग राख्दै बन्दको आह्वान गरेको थियो ।
एकसाता अघि पाथिभरा क्षेत्रको बलुडाँडामा प्रहरी र आन्दोलनरत पक्षबीच भएको झडपमा २१ प्रहरीसहित २६ जना घाइते भएका थिए । झडपमा २ जनालाई प्रहरीले चलाएको गोली लागेको थियो ।