पोखरामा कोटीहोम सञ्चालन गर्न महानगरको रोक, काठदाउरा जफत गर्न नगर प्रहरी परिचालन
Mayorsap
बुध, माघ २३, २०८१ | १०:०५ बजे

कास्की । पोखरा महानगरपालिकाले स्वीकृति नलिइकन कोटीहोम सञ्चालन गर्न लागेको भन्दै रोक लगाएको छ । आयोजक मानव सेवा फाउन्डेसनले स्वीकृति नलिएकाले पोखरामा ३ महिनाभन्दा बढीसम्म चल्ने भनिएको कोटीहोम सञ्चालन नहुने मेयर धनराज आचार्यले बताएका छन् ।
लामो समयसम्म पोखराजस्तो पर्यटकीय क्षेत्रमा धुनी बालेर कोटीहोम सञ्चालन गर्दा यसअघि पनि वातावरण प्रदूषण भएर प्लेन नै उड्न नसक्ने अवस्था भएको मेयर आचार्यले बताए । उनका अनुसार आयोजकले स्थानीय प्रशासन र महानगर कहींबाट पनि अनुमति लिएको छैन । ‘ पोखराको त्यो पनि फेवातालको आडमा ४/४ महिना कोटीहोम लगाउने ठाउँ पनि होइन, त्यसकारण सो यज्ञ त्यहाँ हुँदैन,’ उनले भने ।
महानगरपालिकाले केही दिनअघि प्रेस विज्ञप्ति जारी गर्दै कोटीहोमका नाममा बिनाअनुमति अनधिकृत रुपमा रुख नकाट्न भनेको थियो । ‘यसप्रकार अनधिकृत रुपमा रुख कटान गर्ने कार्य कानुनतः दण्डनीय हुने कुरा सचेत गराउँदै रुख कटानमा संलग्न जो कोहीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सूचित गरिन्छ’, सूचनामा भनेको थियो ।
कोटीहोम आयोजकले काटिएका रुख पोखरा लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा राखेको छ। त्यहाँ राखिएका दाउरा जफत गर्न बुधबार नगर प्रहरीको टोली खटिइसकेको महानगरले जानकारी दिएको छ ।