वनमन्त्री शाहीसँग राष्ट्रसङ्घका आवासीय संयोजक हाम्दीको शिष्टाचार भेट
Mayorsap
बिही, माघ २४, २०८१ | २१:१२ बजे

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग संयुक्त राष्ट्रसङ्घ नेपालका आवासीय संयोजक हाना सिङ्गर हाम्दीले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच वन तथा वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा कुरा भएको मन्त्रालयले जनाएको छ ।
भेटमा मन्त्री शाहीले परराष्ट्र मन्त्रालय र वन मन्त्रालयले आयोजना गर्न लागेको सगरमाथा संवाद उच्चस्तरको कार्यक्रम भएको जनाउँदै त्यसमा संयुक्तराष्ट्र सङ्घको सहयोगको अपेक्षा गरेका थिए मन्त्री शाहीले जलवायु, जैविक विविधता र मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि नेपाल सरकारले सक्दो प्रयास गरिरहेको जानकारी गराएका थिए ।
सो अवसरमा आवासीय संयोजक हाम्दीले वन मन्त्रालयले पछिल्लो पटक राम्रो काम गरेको बताउँदै मन्त्रालयले अन्तराष्ट्रिय मञ्चहरूमा महत्वपूर्ण ‘एजेन्डा’ उठाएको उल्लेख गरेकी थिइन् । नेपालले पर्वतीय र जलवायु परिवर्तनका एजेन्डा उठाएर राम्रो काम गरेको उनको भनाइ थियो ।