टेकुमा नगर प्रहरी र कवाड व्यवसायीबीच झडप, ५ जना घाइते
Mayorsap
आइत, माघ २७, २०८१ | १४:४० बजे

काठमाडौं । काठमाडौंको टेकुमा आइतबार कवाडी व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ । झडपको क्रममा दुवै पक्ष गरी ५ जना घाइते भएका छन् । घाइते हुनेमा ३ जना कवाड व्यवसायी छन् भने २ जना नगर प्रहरी रहेका छन् ।
कवाडी गोदाम हटाउन पुगेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बललाई कवाड व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको हो ।
नगर प्रहरीको टोली डोजर लिएर कवाडी संकलन केन्द्र भत्काउन पुगेको थियो । तर, कवाड मजदुरहरूले प्रतिवाद गर्न खोजेपछि झडप भएको महानगरले जनाएको छ ।
काठमाडौं महानगरको नगर प्रहरी बलका कार्यवाहक प्रमुख एसपी विष्णु जोशीले कवाडी व्यवसायीले बोत्तल प्रहार गरेको र आत्म सुरक्षा गर्ने क्रममा दोहोरो झडपको स्थिति आएको बताए ।