Ad Image

जग्गा फुकुवाको माग गर्दै मालपोत कार्यालयमा धर्ना, लहान नगरपालिकाको पनि समर्थन

User Image Mayorsap | ३ महिना अगाडि
Image of storage/news/1739367666.jpg

सिरहा । गाउँ ब्लक जग्गा फुकुवाको माग गर्दै लहानका स्थानीयले दुई दिनदेखि मालपोत कार्यालय अगाडि धर्ना दिएका छन् । सङ्घर्ष समिति गठन गरेर उनीहरुले धर्ना दिएपछि कार्यालयको कामकाज प्रभावित बनेको छ ।  सङ्घर्ष समितिका संयोजक अरुण केसीले नाप नक्सा भएर जग्गा रोक्का रहँदा सास्ती खेप्नुपरेको बताए । उनले जायज माग पूरा नभएसम्म धर्नालाई निरन्तरअघि बढाउने बताए । “लहान नगरपालिकाको सयौँ घर परिवारको गाउँ ब्लकको जग्गा नाप नक्सा भएर पनि फुकुवा भएको छैन”, उनले भने, “पटकपटक सम्बन्धित निकायमा धाउँदा समस्या समाधान भएन । बाध्य भएर धर्नामा बस्नुपर्ने अवस्था हो ।”

 

संयोजक केसीका अनुसार गाउँ ब्लकमा रहेको जग्गा विसं २०७५ देखि फुकुवा नहुँदा बैंक तथा वित्तीय संस्थाबाट कारोबार र खरिद बिक्रीसमेत ठप्प भएको छ । यसअघि सङ्घर्ष समितिले माघ १४ गते लहान नगरपालिका, इलाका प्रशासन कार्यालय, लहान र नापी कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । हाल नगरपालिकाका जनप्रतिनिधिसमेत धर्नामा बसेका छन् । लहान नगरपालिकाका १५ हजार घरपरिवारको यो समस्या भएकाले धर्ना कार्यक्रममा उपस्थिति भएर लहान नगरपालिकाबाट समर्थन गरेको नगर उपप्रमुख राम चलितर महतोले बताए । उनले भने, “यो समस्या समाधान गर्न २० वर्षदेखि सम्बन्धित मन्त्रालय विभाग हरेक ठाउँमा पुगेर थालेको प्रयास सफल हुन नसकेपछि आन्दोलनलाई लहान नगरपालिकाले उचित ठानेर समर्थन गरेका छौँ ।”

 

लहान नगरपालिका–६ का वडाध्य रमेश गौतम, न्यायिक समिति सदस्य महेन्द्र ठाकुर, लहान–५ का पूर्ववडाध्यक्ष मो सेलेमान अन्सारी, नेपाली कांग्रेस नगरसभापति सञ्जयकुमार यादवलगायतले मालपोत कार्यालयमा धर्नामा उपस्थित भएर भौतिक समर्थन गरेका छन् । गाउँ ब्लक सङ्घर्ष समितिले थालिएको आन्दोलनमा मालपोत कार्यालय लहान शाखामा रहेको लेखापढी व्यवसायी सङ्घको समर्थन रहेको सङ्घका अध्यक्ष रामनारायण यादवले बताए ।

 

कार्यालयको मूल प्रवेशद्वारमा धर्ना बसेपछि कार्यालयको कामकाज प्रभावित भएको कार्यालय प्रमुख अर्जुन मण्डलले बताए । समस्या समाधानका लागि सम्बन्धित निकायबाट पहल गरिरहेको जानकारी दिँदै उनले भने, “यस विषयमा माथिको निर्देशन आएपछि मात्रै समस्या समाधान गर्न सकिने देखिन्छ । यो लहानको समस्या मात्रै नभएर देशव्यापी समस्याको रूपमा रहेको छ ।”