विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ
Mayorsap
शुक्र, फागुन २, २०८१ | २२:३४ बजे

भक्तपुर । आकर्षक तलबको प्रलोभनमा पार्दै क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जनालाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर भक्तपुरले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोक घर भई हाल काभ्रेपलान्चोक बनेपा नगरपालिका–६ बस्ने ३९ वर्षीय दिनेशप्रसाद अधिकारी रहेका प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले जानकारी दिए ।
लामो समयदेखि विदेश पठाइदिन्छु भन्दै झुक्याउँदै आएका र पछि सम्पर्कमा नआएपछि १४ जना पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले थापा र अधिकारीलाई पक्राउ गरेको उनले बताए । प्रनाउ नेउपानेका अनुसार अनुसन्धानका क्रममा १४ जना बेरोजगार युवाबाट रु ७१ लाख ७० हजार ठगी गरेको पाइएको छ । उनले भने, “पक्राउ परेको दुवैलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ठगीसम्बन्धी कसुरको दफा १४ (६) बमोजिम जिल्ला अदालत भक्तपुरबाट पाँच दिन म्याद लिएर हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको छ ।” प्रहरीले थापा र अधिकारीबाट अरु ठगीमा परेका भए भक्तपुर प्रहरीमा आएर जाहेरी दिन आह्वान गरेको छ ।