आगोको लप्काले बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री र मेयरको कीर्तिपुरमा उपचार जारी


काठमाडौं । आगोको लप्काले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई सघन कक्ष (आईसीयू)मा भर्ना गरेर उपचार गरिरहेको अस्पतालका निर्देशक किरणकिशोर नकर्मीले जानकारी दिएका छ ।
दिउँसो साढे ३ बजेदेखि दुवैको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका निर्देशक डा। किरण किशोर नकर्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रारम्भिक मूल्यांकनअनुसार ५–६ प्रतिशत भाग जलेको र अनुहार जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्न सक्ने अस्पतालले भनेको छ । पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उनीहरू घाइते भएका थिए ।
पोखराको गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । अर्थमन्त्रीको हातमा र गालामा बेलुनको छर्रा लागेको र अवस्था सामान्य रहेको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मेयर आचार्यको गाला र घाँटीमा आगोले पोलेको छ । यसैबीच गृहमन्त्री रमेश लेखकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् । कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर गृहमन्त्री रमेश लेखकले स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन् । गृहमन्त्री लेखकले दुवैलाई भेट्नुका साथै उपचारमा संलग्न चिकित्सकहरूसँग छलफल गरेका थिए ।
स्वास्थ्यअवस्थाबारे जानकारी लिएपछि गृहमन्त्री लेखकले सञ्चारकर्मीहरूसँग चिकित्सकहरूले राम्ररी उपचार गरिरहेको बताए । पोलेको धेरै गहिरो छैन, बाहिर पोलेको छ भन्नुभएको छ । उपचार राम्रो भइरहेको छ, उनले भने । उनले पहिले पहिले पनि कार्यक्रमहरूमा बेलुनमा हावा भरेर उडाउने हुँदै आएको भन्दै भने, ‘बेलुनमा हावा भरेर उडाउनु घातक हुने रहेछ । पहिले पहिले पनि उडाउने गरिएकै हो, तर दुर्घटना भन्ने कुरा अचानक हुन्छ ।’ उनले आइन्दा यस्तो दुर्घटना नदोहोरिने गरी व्यवस्था गर्न सरकार लाग्ने बताए ।