मेयरसाप

अर्थ

स्वास्थ्यकर्मी

आन्दोलन

बाढी

दुल्लु नगरपालिका

सिरहामा सामुहिक बलात्कार घटना प्रकरण: रिंकु सदाको मृत्युको घटनामा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

मुकेशकुमार यादव

मंगल, फागुन ६, २०८१ | १७:०१ बजे

सिराहा । सिराहाको नवराजपुर गाउँपालिका– १, भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदामाथि भएको सामूहिक बलात्कार र शंकास्पद मृत्युसम्बन्धी घटनामा छानबिन समिति गठन भएको छ ।

 

मधेस प्रदेश प्रहरी कार्यालयले एक विज्ञप्ति जारी गर्दै एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । उक्त समितिले आजै घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

नवराजपुर गाउँपालिका वडा नम्बर–१ बस्ने १७ वर्षीया रिंकुकुमारी सदा माघ ३० गते आफनै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

 

उनका आफन्त र परिवारले सामुहिक बलात्कार भएपछि किशोरीले आत्महत्या गरेको दाबी गरेका छन् । आफन्तहरूले बलात्कारमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।

 

शंकास्पद मृत्यु जस्तो गम्भीर घटना दबाउन जनप्रतिनिधि र प्रहरी नै लागेको समेत खुलेको छ । रिंकुलाई  माघ २७ गते शौच गर्न गएका बेला अपहरण गरी तीन युवकले सामूहिक बलात्कार गरेका थिए । उक्त जघन्य अपराधलाई आर्थिक लेनदेनमा मिलाउन वडासदस्य नथुनी साहको रोहवरमा गाउँमा पञ्चायत बसेको तथ्य बाहिरिएको छ ।


त्यहीबीचमा किशोरीको शंकास्पद मृत्यु भएपछि पीडित परिवार न्यायिक प्रक्रियामा जाँदा प्रहरीले दुई पटकसम्म जाहेरी फेर्न दबाब दिएर मुद्दा कमजोर बनाएको पीडित पक्षको आरोप छ।


पीडित किशोरीले स्थानीय तीन युवक रुपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले अपहरण गरेर बलात्कार गरेको सम्बन्धमा माघ २८ गते आमा सीता देवीलाई सुनाएपछि घटना बाहिरिएको थियो ।


आमा सीता देवीकाे श्रीमान् रोजगारीका लागि भारतमा रहेकाले उनले जेठाजु रामसेवक सदायलाई घटना सुनाइन् । रामसेवकले न्यायका लागि गाउँमा हारगुहार गरे । वडासदस्य नथुनी साहले पनि घटनाबारे जानकारी पाए । तर, अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुको साटो वडासदस्य साहकै रोहवरमा माघ २९ गते पञ्चायत बस्यो ।

पञ्चायतले आर्थिक लेनदेनमा घटना सामसुम पार्ने प्रयास भयो । वडासदस्य नथुनीसहित ३०–३५ जनाको उपस्थितिमा बसेको पञ्चायतमा पीडित पक्षबाट किशोरी रिंकु, आमा सीतादेवी र ठुला बुबा रामसेवक सहभागी थिए ।

 

किशोरीका काकाले फागुन १ मा चिंकु भन्ने रुपेश मण्डललाई प्रतिवादी बनाएर आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धान गर्न जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय लाहानमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी वीरेन्द्र पासवानले जानकारी दिएका छन् । उनले भने, ‘बलात्कार भएको विषयमा पनि अनुसन्धान हुन्छ, बलात्कार यकिन गर्न चिकित्सकको रिपोर्ट पर्खिरहेका छौँ ।’

 

आरोपित तीनैजना फरार रहेको स्थानियहरुको भनाइ छ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology