नेकपा एसको नीतिः स्थानीय तहमा छायाँ सरकार, जिल्लामा कम्तीमा एक पालिका जित्ने
Mayorsap
बुध, फागुन ७, २०८१ | २१:११ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीले देशभरका पालिकामा छायाँ सरकार बनाएर काम गर्ने भएको छ । आज बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष माधव नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘हामी निर्वाचित नभएका स्थानीय तहका हाम्रा पार्टी कमिटीहरूले सम्बन्धित स्थानीय तहको छायाँ सरकारका रूपमा काम गर्नु पर्दछ ।’
प्रतिवेदनमा हरेक प्रदेशले आफ्ना प्रदेशका कम्तीमा १० प्रतिशत संघीय र प्रदेश निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने, प्रत्येक जिल्लाको कम्तीमा एक पालिका र हरेक पालिकाको एक वडामा विजय हासिल गरेर अगाडि बढ्न सकियो भने परिणाममुखी काम आउने भन्दै यो विषयलाई छलफलको विषय बनाइएको छ । राजनीतिक एवं साङ्गठनिक कार्यलाई अगाडि बढाउन प्रचार ठूलो भएकाले पार्टीका विभिन्न कमिटीका बैठक, भेला, अधिवेशनहरूको राम्ररी प्रचार नभएको उल्लेख छ ।
‘पार्टीका नेताहरूले सार्वजनिक कार्यक्रममा वा अन्तर्वार्तामा बोलेका मात्र होइन संसदमा बोलेका राम्रा कुराको समेत प्रचार भएको छैन । जनसंगठनहरुले गरेका कामको पनि प्रचार भएको छैन’, प्रतिवेदनमा भनिएको छ, ’विरोधीहरूले हाम्रा विरुद्ध अनर्गल प्रचार गरिरहेका छन् तर हामीले त्यसको खण्डन हुने गरी प्रचार कार्य सञ्चालन गर्न सकिरहेका छैनौं । त्यसैले प्रचार कार्यलाई व्यवस्थित, व्यापक र प्रभावकारी बनाउनु जरुरी छ ।’