बागमती गोल्डकप : संकटालाई हराउँदै एपीएफ सेमिफाइनलमा
Mayorsap
बुध, फागुन ७, २०८१ | २१:४८ बजे

बागमती । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति फुटबल रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा सङ्कटा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको ८३ औँ मिनेटमा एपिएफका सुजनकुमार पुलामीले एक गोल गरेका थिए । सो गोल नै खेलको निर्णायक बन्न पुग्यो । आजको खेलमा म्यान अफ द म्याच घोषित एपीएफ क्लबका मणिकुमार लामाले नगद रु १० हजार प्राप्त गरे । एपिएफ क्लब अघिल्लो छैटौँ संस्करणको बागमती गोल्डकपको उपविजेता टिम हो ।
प्रतियोगिताअन्तर्गत बिहीबार दोस्रो क्वाटरफाइनलमा मच्छिन्द्र क्लब र बागमती युवा क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले जानकारी दिए । यही फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका सात र मोफसलका तीन क्लब गरी १० टिमको सहभागिता रहेको अध्यक्ष थिङले बताए । प्रतियोगिताका विजेता टिमले पुरस्कार स्वरुप नगद रु १० लाख प्राप्त गर्ने छ भने उपविजेताले नगद रु पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।