सशस्त्रका तीन एसएसपी डिआइजी बढुवामा सिफारिस, देउवाका ज्वाइँ पर्दा पाठक छुटे
Mayorsap
शुक्र, फागुन ९, २०८१ | ०९:१२ बजे

काठमाडौं । सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवा सिफारिस भएका छन् । बिहीबार गृह मन्त्रालय बढुवा सिफारिस समितिले तीन जनालाई बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिसमा पर्नेहरूमा कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट रहेका छन् । यो बढुवा सिफारिसमा चित्त नबुझे अन्य उम्मेदवारले सात दिनभित्र उजुरी दिन सक्छन् । तर, फौजी संगठनमा बढुवा–सरुवामा चित्त दुखाएर उजुरी गर्नेहरू प्रायः छैनन् ।
यो बढुवा सिफारिसमा नअटाएका कृष्णराज पाठक हुन्। उनी सबैभन्दा वरिष्ठ एसएसपी थिए। अघिल्लो पटकको बढुवामा समेत उनी छुटेका थिए । पाठकका ब्याचमेट सुरेश श्रेष्ठ, अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा र दीपक अधिकारी यसअघि नै बढुवा भइसकेका थिए।
बढुवामा परेकामध्ये कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका ज्वाइँ नातामा पर्छन् । कुँवर देउवाका स्वकीय सचिव भानुका बहिनी ज्वाइँ हुन्। बढुवामा सिफारिस भएका ढकाल पहिलो ब्याचका हुन् भने कुँवर र भट्ट दोस्रो ब्याचका हुन्।