७ करोडको लगानीमा बनेको भवन प्रयोग विहीन
Mayorsap
शनि, फागुन १०, २०८१ | ०९:१३ बजे

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोग विहीन भएको छ । रामग्राम नगरपालिका झरही खोला नजिकै रहेको हाटबजारमा निर्माण गरिएको भवनको माथिको सटर भाडाको लागि ८० हजार जम्मा गरेपनि रामग्राम नगरपालिकाले भाडामा नदिएको रामग्राम निवासी गिरजाशङ्कर रौनियारले बताए ।
चितवनबाट सञ्चालित निर्माण कम्पनीले हाटबजारको भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको चार वर्षभन्दा बढी भएको बताइएको छ । भाडामा नदिँदा निर्माणाधीन भवन प्रयोग विहीन भएको उनको भनाइ छ । वर्षातका समयमा हाटबजार लगाउन आउने व्यापारीलाई वर्षात र घामबाट सुरक्षित तथा बजार व्यवस्थितको सहरी विकास तथा भवन निर्माण विभाग चितवनले भवन निर्माण गरेको हो ।
विभागले सात करोड लागतमा एक सय बढी सटर निर्माण गरेको सव इन्जिनियर वीरेन्द्र मण्डलले बताए । उनका अनुसार बलक, शौचालय, सेनेटरी र वाइरिङको काम गर्न बाँकी रहेकोले प्रयोग विहीनमा छ । विभागले निर्माण गरेको कोठा भाडामा दिनका लागि रामग्राम नगरपालिकाले चार पटक सूचना प्रकाश गरेपनि भाडामा लिने व्यक्ति अहिलेसम्म सम्पर्कमा नआएको नगर प्रमुख धनपति यादवले बताए ।