ट्रम्पले गरे शीर्ष सैन्य अधिकारीसहित पाँच जनालाई बर्खास्त
Mayorsap
शनि, फागुन १०, २०८१ | १५:०४ बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक शीर्ष सैन्य अधिकारीलाई हटाएका छन् । सेनाको संयुक्त प्रमुख कर्मचारी (जेसीएस) का अध्यक्ष चार्ल्स सी. क्यू. ब्राउन जूनियरलाई राष्ट्रपति ट्रम्पले हटाएका हुन् । संयुक्त प्रमुख कर्मचारी (जेसीएस) लाई अमेरिकी रक्षा विभागको सबैभन्दा वरिष्ठ सैन्य नेताहरूको समूह मानिन्छ । यो समूहले राष्ट्रपति, रक्षा सचिव, गृह सुरक्षा परिषद् र राष्ट्रिय सुरक्षा परिषद्लाई सैन्य मामिलामा सल्लाह दिन्छ ।
२०२० मा सिक्यूले ब्ल्याक लाइभ्स म्याटर आन्दोलनलाई सार्वजनिक रूपमा समर्थन गरेका थिए । यो आन्दोलन अश्वेत व्यक्ति जर्ज फ्लोयडको हत्या पछि सुरु भएको थियो । त्यतिबेला सीक्यू वायुसेनाका प्रमुख थिए । त्यतिबेला ट्रम्प राष्ट्रपतिको पदमा थिए । २०२० को चुनावमा ट्रम्पको पराजय पछाडि यो आन्दोलनले प्रमुख भूमिका खेलेको मानिन्छ ।
न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार चार्ल्स सी.क्यू. ब्राउन जूनियर बाहेक, रक्षा विभागका अन्य ५ अधिकारीहरूलाई बर्खास्त गरिएको छ । यसमा नौसेनाको जिम्मेवारी सम्हाल्ने पहिलो महिला अधिकारी एडमिरल लिसा फ्रान्चेट्टी, वायुसेना उपप्रमुख जेम्स स्लाइफ र सेना, वायुसेना र नौसेनाका ३ शीर्ष वकिलहरू समावेश छन् ।
यस अघि अमेरिकामा सरकार परिवर्तन हुँदा जेसीएस अध्यक्ष परिवर्तन नहुने परम्परा रहेको थियो । १ अक्टोबर २०२३ मा यो पदमा नियुक्त सिक्यूको कार्यकाल चार बर्षको रहेको थियो । अमेरिकी सैन्य इतिहासमा यो पदमा पुग्ने सी.क्यू. दोस्रो अश्वेत अधिकारी थिए। उनीहरु चार तारे सैन्य अधिकारी हुन् ।
सेवानिवृत्त ती तारे वायुसेना जनरल डान केनलाई सिक्यूको स्थानमा जेसीएस अध्यक्ष नियुक्त गरिएको छ । ट्रम्प र डान केन २०१८ मा इराकमा भेटेका थिए । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पदभार ग्रहण गर्नुअघि नोभेम्बरमा सीक्यू ब्राउनलाई हटाउने संकेत गरेका थिए ।