नेपाल र म्यानमारको खेल बराबरीमा टुंगियो, अंक बाँडे
Mayorsap
आइत, फागुन ११, २०८१ | २०:१८ बजे

काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमारबीचको खेल बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले २–२ गोल गरेसँगै १/१ अंक बाँडेका छन् । ७–७ अंकसहित म्यानमार पहिलो र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । म्यानमार गोलअन्तरका आधारमा शीर्ष स्थानमा रह्यो । फाइनल खेल बुधबार हुनेछ ।
पहिलो हाफमा २–२ गोल गरेका दुवै टोलीले दोस्रो हाफमा कुनै पनि गोल गर्न सकेनन् । खेलको छैटौँ मिनेटमा म्यानमारकी म्याट नोए खिनले गोल गर्दै पहिलो अग्रता लिएकी थिइन् । उनले प्रहार गरेको प्रहार नेपालकी अन्जना रानामगरले रोक्न नसक्दा गोलमा परिणत भएको थियो ।
खेलको ११ औं मिनेटमा नेपालकी सविता रानामगरले गोल गर्दै बराबरीमा फर्काएकी थिइन् । उनले सावित्रा भण्डारीको पासमा डिबक्सबाट गोल गरेकी थिइन् । पुनः खेलको १६ औ मिनेटमा म्यानमारकी मे लुले चेस्ले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । खेलको ४१ औं मिनेटमा सावित्राले गोल गर्दै नेपालको तर्फबाट दोस्रोपटक बराबरी गोल फर्काएकी थिइन् ।