प्रसिद्ध शक्तिपीठ मालिका भगवती मन्दिर पुनर्निर्माण सुरु
Mayorsap
बुध, फागुन १४, २०८१ | ११:४४ बजे

बागलुङ । बागलुङको प्रसिद्ध शक्तिपीठ मालिका भगवती मन्दिरको पुनर्निर्माण थालिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु. ५४ लाखबाट पुनर्निर्माण थालिएको मालिका भगवती मन्दिर व्यवस्थापन समितिका महासचिव खिम सापकोटाले जानकारी दिए ।
“परापूर्वककालदेखि थानलाई पूजा गरिन्थ्यो, त्यही थानमा सानो सिमन्टको मन्दिर निर्माण भएको थियो, उक्त मन्दिर जीर्ण भएपछि अहिले पर्यटन मन्त्रालयको पहलमा पुनर्निर्माण थालिएको हो”, सापकोटाले भने, “दिव्य शिलालाई घेरेर ढुङ्गा र काठबाट कलात्मक रुपमा मन्दिर पुनर्निर्माण भइरहेको छ ।”
दिव्य शिला भएको स्थानलाई घेरेर तीन तलाको पगोडा शैलीमा मन्दिर निर्माण भइरहेको र अन्य दाताले सहयोग गरिरहेकाले चालु आवमै मालिका मन्दिर, पर्खाल, नागको मन्दिर, सत्तल र खेलमैदानलगायत पूर्वाधार निर्माण हुने उनले बताए ।
अहिले भक्तपुरको कलात्मक शैलीमा मन्दिर पुनर्निर्माण भइरहेको छ । एउटै शिलाको ढुङ्गालाई काटेर मन्दिर निर्माण भइरहेको र भक्तपुरबाट काठको झ्याल तथा ढोका आयात गरिएको बताए ।
ललितपुरका कालीगढबाट ढुङ्गा कुँदिएको, कलात्मक टुँडाल र तामाले छाएको मन्दिर निर्माण हुनेछ । मल्लकालीन थानलाई मालिका भगवतीको रुपमा लिइएको किंवदन्ती रहेको र मालिका मन्दिरलाई बागलुङको कालिका मन्दिरको बहिनीको रुपमा पूजा गर्ने प्रचलन छ ।