पशुपतिनाथमा चार प्रहरमा चार किसिमका पूजा
Mayorsap
बिही, फागुन १५, २०८१ | ०८:०७ बजे

काठमाडौं । महाशिवरात्रिको रात्रिमा पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बुधबार बेलुकी करिब ६ बजे सुरु भएको पूजा आज बिहान ६ बजेसम्म जारी रहेको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए ।
हिजो बेलुका ६ बजेदेखि सुरु भएको पहिलो प्रहर पूजा राति ९ बजे सकिएको थियो । यस्तै दोस्रो प्रहर पूजा राति १२ बजे, तेस्रो प्रहर पूजा बिहान ३ बजे र चौथो प्रहर पूजा बिहान ६ बजे सकिएको हो । सो अवधिमा जप, ध्यान, पूजा, अर्घ्यदान, पाठ, रुद्राभिषेकलगायत पूजा गरिन्छ । प्रहर पूजाबाट आशुतोष भगवान् शिव खुसी हुने धार्मिक विश्वास छ ।
सांस्कृतिक पर्वका रूपमा रहेको यस रात्रिमा बुधबार पशुपतिनाथमा चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यवर्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिएको छ ।
कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिएको छ । सो अवसरमा भगवान् श्री महादेवको दर्शन गर्न तथा महाशिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको थियो ।