मेयरसाप

सम्पादकीय

महाशिवरात्री

कावासोती नगरपालिका

हुप्सेकोट गाउँपालिका

केपी ओली

चौरजहारी नगरपालिका

केराबारी गाउँपालिका

मुग्लिन-नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन

Mayorsap

बिही, फागुन १५, २०८१ | ०८:२७ बजे

दमौली । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो । उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा रु दुई करोड ६९ लाख ३२ हजार विनियोजन गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट उक्त सडकको ट्रयाक खोल्ने काम भइरहेको छ ।

 

मुग्लिन नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको विस्तृत अध्ययन (डिपीआर) पश्चात् सडक विभागले पहिलो चरणको ठेक्का लगाएको हो । देवघाटका स्थानीयवासी केशवचन्द्र न्यौपानेले यहाँका स्थानीयले पटक–पटक उठाउँदै आएको माग सरकारले पूरा गरेको बताए । मुग्लिन नारायणगढ सडकखण्डको विकल्पका रुपमा वैकल्पिक सडक निर्माणका लागि आवाज उठाउँदै आएकामा उक्त माग सुनुवाइ भएको उनको भनाइ छ ।

 

नवलपुरको गैंडाकोट नगरपालिका–३ ब्रिटिसक्याम्प र देवघाट गाउँपालिका–५ देउपुर हुँदै दासढुङ्गा जोड्ने वैकल्पिक सडक र उक्त बाटो हुँदै दासढुङ्गादेखि मुग्लिनसम्म तनहुँतर्फ त्रिशूलीको किनारमा वैकल्पिक मार्ग आवश्यक भएको जनाउँदै सम्बन्धित निकायमा स्थानीयवासीले माग गरेका थिए ।

 

उक्त वैकल्पिक सडकका लागि विगतमा सरकारको नीति तथा कार्यक्रममा समावेश भइ अध्ययनका लागि बजेट विनियोजन भए पनि पछि सरकारले उक्त योजना रद्द गरेको थियो । उक्त सडक निर्माण गर्न सके देवघाटको गाउँपालिका आर्थिक र धार्मिक पर्यटनको केन्द्र बन्ने हुँदा यसका लागि गाउँपालिकाले पहल थाल्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

 

हाल देवघाट गाउँपालिकालाई राष्ट्रिय राजमार्गले नछोएको हुँदा गैँडाकोटबाट देवघाट हुँदै दासढुङ्गा जाने सडक निर्माण गर्न सके देवघाटमा धेरैभन्दा धेरै पर्यटक भित्रिने र देवघाटको धार्मिक पर्यटनको विकास हुने उनले विश्वास व्यक्त गरे ।

 

हाल सञ्चालनमा रहेको मुग्लिन–नारायणगढ सडकमा वर्षाको समयमा पहिरो गएर समस्या भोग्नुपरेकाले वैकल्पिक सडक अति आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले तनहुँतर्फ अर्को राष्ट्रिय सडक निर्माण गर्न सकेमा हाल विकासमा निकै पछाडि परेको देवघाट र आँबुखैरेनी गाउँपालिकाका धेरै बस्तीलाई विकासको मूलधारमा ल्याउन सकिने बताए । वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology