मेयरसाप

सम्पादकीय

महाशिवरात्री

हनुमाननगर कंकालिनी नगरपालिका

श्री राष्ट्रिय माध्यमिक विद्यालय

निर्माण

कर्मचारी

त्रिवेणी गाउँपालिका

बालबालिकाको सर्वाङ्गीण विकासका लागि शैक्षिक मेलाको आयोजना गर्दै काठमाडौं महानगर

Mayorsap

बिही, फागुन १५, २०८१ | १०:३० बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाले  ‘काठमाडौं शैक्षिक मेला २०८१’ आयोजना गर्न लागेको छ । यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह परिसरमा शैक्षिक मेला हुने महानगरपालिकाले जनाएको छ । विद्यालय शिक्षालाई वैज्ञानिक र व्यवहारिक तथा विद्यार्थीको रुचि र अभिभावकहरुको चाहनाअनुरुप सञ्चालन गर्नका लागि सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको छ । 

 

यसरी थालिएका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सीपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको हो । कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागी विद्यालय र संघसंस्थाहरुसँग सहकार्य हुनेछ । विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेलाले कोशेढुङ्गा स्थापित गर्ने, आगामी कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा लिइएको छ ।

 

महानगरपालिकाले शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरुको क्षमता विकासलगायतका कार्यक्रमको बिम्ब मेलामा समेटिने छन् । मेला आयोजनाका लागि महानगरपालिकाको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरुले सहजीकरण गर्नेछन् । प्रस्तुति र प्रदर्शनीको मुख्य भूमिकामा विद्यार्थीहरु नै हुने जनाएको छ ।

 

प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरुले नविनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन् । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शन गर्नेछन् । शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनाकालाई अवलोकनका लागि निमन्त्रणा गरिएको मेलामा सामुदायिक विद्यालयहरुले दिवा खाजाका रुपमा ३० रुपैयाँमा उपलब्ध गराउने खाजा १० वटा स्टलबाट सबैलाई ३० रुपैयाँमा नै उपलब्ध गराइनेछ । यस्तै नेपाल भाषा, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति समावेश गरिनेछ ।

 

विद्यार्थी नमूना संसद अभ्यास, विद्यालय शिक्षा सुधारसम्बन्धी छलफल, बुक फ्री फ्राइडेको बावा उपसमूहअन्तर्गत मरुहिटी पानीको गुण जाँच तथा प्रविधिमार्फत सिकाइको प्रदर्शनी, विद्यार्र्थीका अनुभूति कोरिएका १ हजार बढी स्केचिङ र स्कल्प्चरको नमूना प्रदर्शनी, टिचर कलेज प्रोग्रामसम्बन्धी गतिविधि तथा नतिजा सुधारका असल अभ्यासको आदानप्रदान, महानगरपालिकाका शैक्षिक गतिविधिको जानकारीका लागि सूचना केन्द्र मेलाका आकर्षण हुन् ।

 

कार्यक्रमका ३ चरणमध्ये फेस्ट पहिलो चरणको कार्यक्रम हो । दोस्रो चरणमा चालु शैक्षिक सत्रको अन्तिम बुक फ्री फ्राइडेका दिन (२०८१ फागुन २३ गते) साझेदार र सरोकारवालाले आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराउने योजना बनाइएको छ ।

 

तेस्रो चरणमा शैक्षिक क्रियाकलापका नविनतम आयामका विषयमा पृष्ठपोषण लिन गोलमेच अन्तक्र्रिया आयोजना गरिनेछ ।  महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ वटा संस्थागत विद्यालयमा २ लाख १० हजार ९३४ जना गरी २ लाख ७२ हजार २६३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय शिक्षाको विकास, स्तरोन्नति र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले अहिले अनुसन्धानमा आधारित लगानी बढाएको छ । जसबाट प्रारम्भिक बाल विकास सुधार, पूर्वाधार विस्तार, शिक्षक क्षमता अभिवृद्धि, शैक्षिक सामग्रीको उपलब्धता र उपयोगिता अभिवृद्धि, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, बुक फ्री फ्राइडे (एकीकृत सिकाइ, सिर्जनात्मक सिकाइ र शिक्षामा सिप), टिचर कलेज प्रोग्राम, नतिजा सुधार कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

 

विद्यालयको पूर्वाधार र शैक्षिक वातावरणका लागि बहुवर्षे कार्यक्रमअन्तर्गत महानगर गौरव योजनामा ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम कार्यान्वयनमा छ । यस्तै, नियमित र प्राथमिकतामा राखिएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’ कार्यान्वयनमा ल्याइएका छन् ।

 

यसरी सञ्चालन गरिएका कार्यक्रमबाट सैद्धान्तिक शैक्षिक कार्यक्रमलाई प्रयोगात्मक र व्यवहारिक बनाएर समय सापेक्ष र उत्तरदायी नागरिक उत्पादनमा योगदान गर्ने महानगरपालिकाको लक्ष्य रहेको काठमाडौं महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology