मकवानपुरको कैलाश गाउँपालिकाले बनायो ८८ लाखको लागतमा जिपलाइन
Mayorsap
शनि, फागुन १७, २०८१ | १८:३१ बजे

मनहरी । मकवानपुरको कैलाश गाउँपालिकाले कैलाश र वैकुण्ठ क्षेत्र जोड्ने गरी जिपलाइन निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले रु ८८ लाखको लागतमा करिब एक हजार २०० मिटर लामो जिपलाइन निर्माण गरिएको बताए ।
वडा नं २ बैकुण्ठमा निर्मित कैलाश वैकुण्ठ जिपलाइनको पहिलो चरणको परीक्षणसमेत सम्पन्न भएको र यसले धादिङको रोराङ बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकाका नागरिकसमेत लाभान्वित हुने उनले बताए । जिपलाइन र्मिाणमा सङ्लग्न प्राविधिकसहित गाउँपालिका अध्यक्ष मुक्तान, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट, इन्जिनियर अनिल जोशीलगायतको टोलीले पहिलो चरणको परीक्षण गरेका हुन् ।
गाउँपालिका योजना शाखा प्रमुख नरेन्द्रदत्त भट्टले पालिकाले बहुवर्षीय योजना बनाई दुई स्थानमा स्टेसन, ब्रेकिङ सिस्टम (हारनेस) र तार निर्माण गरिएको उनले बताए । अब चाँडै नियमित सञ्चालनमा आउने उनले जानकारी दिए ।
जिपलाइन प्राविधिक एवं प्रशिक्षक बद्री घिमिरेले पहिलो चरणमा ब्रेकिङ सिस्टम (सोलोप) सम्बन्धी कार्यको परीक्षण गरिएको र अब दोस्रो चरणको परीक्षणपछि नियमित सञ्चालनमा ल्याइने बताए ।