काठमाडौं आएर ‘बर्दीको पावर’ देखाएका लमजुङका डीएसपी श्रीवास्तव प्रहरी हेडक्वाटर तानिए
Mayorsap
आइत, फागुन १८, २०८१ | २१:५५ बजे

काठमाडौं । ‘बर्दीको पावर’ देखाउन कार्यक्षेत्रभन्दा बाहिर काठामाडौं आएर एक भारतीय व्यक्तिलाई पक्राउ गरी भारतीय प्रहरीलाई बुझाएको विषयमा विवादमा तानिएका लमजुङ्ग प्रहरी प्रमुखका रुपमा कार्यरत प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तव प्रहरी प्रधान कार्यालय तानिएका छन् ।
जिल्लामै पटक पटक विवादमा तानिएका प्रहरी नायव उपरीक्षक श्रीवास्तव गएको तिहारको समयमा जुवाडे प्रकरणमा मुछिएका थिए । दसैँ सुरु हुँदा लमजुङ्गको प्रहरी प्रमुखको जिम्मेवारी पाएका श्रीवास्तव एक महिना पनि नबित्दै विवादमा तानिएका थिए । डीएसपी श्रीवास्तवलाई जिल्लाभर निर्माण व्यवसायीहरुसँग पैसा असुलेको आरोप पनि लाग्ने गरेको छ ।
श्रीवास्तवले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर काठमाडौं आएर एक भारतीय नागरिकलाई पक्राउ गरी भारतीय प्रहरीलाई जिम्मा लगाएको स्रोतले मेयरसाप डटकमलाई जानकारी दिएको थियो । डीएसपीको उक्त काममा प्रहरीकै अनुसन्धान ब्युरोले फेरि भारतीय प्रहरीलाई नै पक्राउ गरी भारतीय दूतावास बुझाएको एक स्रोतले मेयरसाप डट कमलाई जानकारी गराएको थियो । मेयरसाप डटले यो घटनाको स्वतन्त्र पुष्टि गर्ने प्रयास गरे पनि प्रहरी अधिकारीहरुको ब्यस्तताका कारण सम्भव भएको छैन ।
यो घटनामा प्रहरीले कसरी काम गर्छ भन्ने विषय भने हेर्न भने बाँकी नै छ । श्रीवास्तवले लमजङु्गमा आफ्नो माताहतका प्रहरी पठाएर ठेकेदारहरुसँग पनि रकम असुली गरेको आरोप लागेको छ । डीएसपी श्रीवास्तवले यी सबै आरोप सत्य नभएको केही अगाडि मेयर साप डटकमलाई जानकारी गराएका थिए ।
अहिले लमजङु्ग प्रहरी प्रमुखको रुपमा डीएसपी रेशम बोहोरालाई जिम्मेवारी दिइएको छ । उनी जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा प्रहरी प्रवक्ताको जिम्मेवारीमा थिए । गएकाे एक गतेदेखि उनी तालिममा महाराजगन्जमा रहेका थिए । तालिम २८ दिनसम्म चल्नेछ ।