मेयरसाप

बालेन शाह

कर्मचारी

अर्थ

सम्पादकीय

महाशिवरात्री

शिक्षा

दार्मा गाउँपालिका

आलु

छत्रकोट गाउँपालिका

त्रिशूली

खार्पुनाथ गाउँपालिका

कांग्रेसका दुई दिने प्रशिक्षण कार्यक्रम सकियो

Mayorsap

मंगल, फागुन २०, २०८१ | २१:५२ बजे

रूपन्देही । नेपाली कांग्रसले देशभरि रहेका प्रतिनिधिसभा अन्तर्गतका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखलाई भैरहवामा दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण प्रदान गरेको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा गरेको प्रशिक्षणमा देशैभरिका प्रतिनिधिसभा अन्तर्गतका एक सय ३० जना क्षेत्रीय सभापति सोही सङ्ख्यामा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुख तथा एक वटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेशसभाअन्तर्गतका क्षेत्रीय सभापति ७० जना गरी जम्मा तीन सय ३० जनाको सहभागिता रहेको थियो । 

 

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले क्षेत्रीय कार्यसमितिको काम कर्तव्य र अधिकारसहित पार्टीका संरचनाबारे सहजीकरण गरेका थिए ।अर्का महामन्त्री विश्वप्रकाश शर्माले संगठन र समुन्नतिका लागि समय, संयम, सम्प्रेषण र सहकार्य तथा डा। जगदीशचन्द्र पोखरेलले लोकतान्त्रिक समाजवादः नेपाली कांग्रेसको आर्थिक नीति र अभ्यासको विषयमा सहजीकरण गरेका थिए । 

 

दुई दिने प्रशिक्षण कार्यक्रमले भने क्षेत्रीय प्रतिनिधिमा नयाँ ऊर्जाको सञ्चार गरेको सहभागीहरूले प्रतिक्रिया दिएका छन् । उदयपुरका केशबहादुर मगरले प्रशिक्षण कार्यक्रमले आफूहरूलाई नेता बनाएको प्रतिक्रिया दिए । “देशको नेता बन्न पहिला आफूबाट सुध्रिनुपर्छ, आफू जुन पार्टीमा उभिएको छ सबैभन्दा पहिला त्यसको नीति र विधि मानेर आफू अनुशासित भएर हिँडियो भने मात्र अनुकरणीय हुन्छ ।” मगरले भने “कार्यक्रमले हाम्रो इच्छाशक्ति बढाएको छ, यसले हाम्रो जिल्ला र क्षेत्रमा गएर पार्टीका नीति र विधानअनुसार आफू संयमित भएर फेरि उठ्न सक्छौँ भन्ने विश्वास जागेको छ ।”

 

यस्तै नुवाकोट क्षेत्र नं १ का रामजी पौडेलले दुई दिने कार्यक्रम अत्यन्तै उपलब्धिमूलक भएको प्रतिक्रिया दिए । “पार्टी सञ्चालनको सम्बन्धमा हामीले गर्नुपर्ने दैनिक कामदेखि लिएर नयाँ आएको परिस्थिति, प्रविधिको प्रयोगदेखि लिएर राष्ट्रिय राजनीतिक मुद्दालाई जनस्तरमा कसरी लैजान सक्छौँ भन्ने सिकाइ भएको छ ।” उनले भने “पार्टी संयन्त्रलाई त्यसमा कसरी व्यवस्थित रूपमा परिचालित गर्न सक्छौँ भन्ने कुराहरू गहन रूपमा छलफल भएको छ ।”

 

दुई दिने प्रशिक्षण कार्यक्रममा पार्टीसँग जोडिएका विषय, पार्टीका महत्त्वपूर्ण काम, २०४६ सालपछि नेपाली कांग्रेस सरकारमा हुँदा गरेका नीतिगत सुधारका काम, मुलुकको संविधान, सङ्घीयताको कार्यान्वयन, नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अभियान, पार्टी सङ्गठनसँग जोडिएका विषय र पार्टीको केन्द्र, प्रदेश, जिल्ला हुँदै निर्वाचन क्षेत्रसँग जोडिएका अन्तसम्बन्धका विषयकोबारे प्रस्तुति रहेको थियो । 

 

समसामयिक विषय वस्तुसँग जोडिएका गरि विभिन्न ६ वटा विषयमा प्रस्तुतिकरणसहित छलफल गरिएको र यसलाई सातवटा समूह विभाजन गरेर सहभागीहरूले आफ्नो क्षेत्रको अनुभव, नेपाली कांग्रेस पार्टी सञ्चालनमा रहेका समस्यालगायतबारे गहन सुझाव प्रदान गरेका छन् । सहभागीहरूले सरकार सञ्चालनमा विषयमा पनि कुरा उठाएका थिए । जसलाई कांग्रेसका तर्फबाट सरकारमा सहभागी उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले जवाफ दिएका थिए । 

 

सहभागीहरूले उठाएको सवालमा जवाफ दिँदै परराष्ट्रमन्त्री आरजु राण देउवाले पार्टीलाई ‘आउट अफ फैशन’ नसोच्न आग्रह गरिन् । उनले रामायण र महाभारतको उदाहरण दिँदै यी कथा पुरानो नभए जस्तै नेपाली कांग्रेसले लिएको सोच पनि पुरानो नभएको उनले स्पष्ट पारिन् । “हामी भनेको हामी नै हौँ, हामीले नेतृत्व गर्छौँ र अगाडि बढाउँछौँ, हाम्रो पार्टीभित्रको कुरा हामीले नै सुधार गर्नुपर्छ”, राणाले भनिन् ।  

 

त्यसैगरी गृहमन्त्री रमेश लेखकले मुलुकमा दिगो शान्तिको स्थापना, विकासको गति अगाडि बढाउँदै सुशासन कायम गर्ने र आर्थिक समृद्धिका साथ अगाडि बढाउने उद्देश्यका साथ एमाले र कांग्रेसलगायत अन्य दलको गठबन्धन बनेको उनले बताए । 

 

“यो एक विशिष्ट अवस्था भएकाले यो सरकारलाई नेपाली कांग्रेसका तर्फबाट समस्या उत्पन्न भयो र हामी ठीक ठाउँमा पुग्न सकेनौँ भने यसको दोष नेपाली कांग्रेसले लिनुपर्छ”, लेखकले भने “मुलुकमा अस्थिरता हुने दोष नेपाली कांग्रेसले बोक्नुपर्ने हुनाले ईमान्दारीपूर्वक गठबन्धनलाई साथ लिन जरूरी छ ।” उनले व्यावसायिक वातावरण निर्वाह गर्न र दैनिक नागरिकका सेवालाई सरल ढङ्गले सुचारू गर्नको लागि केही अध्यादेश ल्याएको सहभागीलाई जानकारी गराए ।

 

“मेरो प्राथमिकता भनेको अहिलेलाई सबैभन्दा पहिला कानुनी जटिलताको सुधार, मुलुकको आन्तरिक सुरक्षा र शान्तिको स्थितिलाई सुनिश्चित गर्नु हो”, गृहमन्त्रीले भने, “त्यस अर्थमा यता केही महिनामा नेपाल प्रहरी ऐन, सशस्त्र प्रहरी ऐन, नागरिकतासम्बन्धी विधेयक पेस भएको छ । यी विधेयकलाई तत्काल संसद्मा लैजाने हाम्रो प्रयास छ ।”

 

नेपाली कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गरेका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेस मात्रको सरकार नभएको कारण सबै हुनैपर्छ भन्ने मासिकता नराख्न सहभागीलाई आग्रह गरे । “कहीँ कांग्रेसले मान्नुपर्छ कहीँ एमालेले मान्नुपर्छ, मिलाएर लैजानुपर्छ,” सिंहले भने, “फोनमा काम भनेर हुँदैन भन्ने कुरामा म स्पष्ट छु, केही विकास निर्माणको काम भए सिधा मलाई या मेरो सचिवालयमा भेटेर राख्न सकिन्छ ।” केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रमलाई कांग्रेस रूपन्देही निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय समितिले व्यवस्थापन गरेको थियो । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology