Ad Image

महायज्ञकाे नाममा दलितको घरमा गाउँपालिकाले चलायो डोजर, मलिक परिवारको उठिबास

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742466918.jpg

सिराहा । सिराहामा करिब २५ वर्षदेखि सानो छाप्रोमा बस्दै आएका एक मलिक परिवारलाई जनप्रतिनिधिहरुले नै उठिबास गराएका छन् । मलिककाे परिवार पूर्व - पश्चिम हुलाकी राजमार्ग अन्तर्गत औरही गाउँपालिका - ५ स्थित सडक छेउमा लामो समयदेखि बस्दै आएका थिए ।

 

(दलित) मलिक परिवारलाई औरही गाउँपालिका अध्यक्ष शिवजी यादवकै नेतृत्वमा डोजर लगाएर घर भत्काइदिएका हुन् । पालिका अध्यक्षले अछूत भन्दै डोम समुदायका दीपक र अनितासहित ७ जनाको परिवारलाई महायज्ञ हुने स्थानबाट करिब ५ सय मिटर पर एकान्त स्थानमा बाँसको अस्थायी घर बनाएर सारिदिएका छन् ।


विगत लामो समयदेखि सडक किनारमा बस्दै आएका दिपक मलिक (डोम) बस्ने ठाउँमा नयाँ छाप्रो ठडिएको छ। त्यही छाप्रो पनि दुईवटा कोठामा विभाजन गरिएको छ । कोठाका दुवै दैलोमा भगवान महादेव, विष्णु, गणेश, लक्ष्मी र सरस्वतीका फोटोहरु टाँसिएका छन् । तर, उनको आस्थाका भगवानले उनीहरुलाई कहिल्यै रक्षा गर्न सकेनन्।

महायज्ञको मण्डपकाे  छाप्राेभित्र राखिएका मुर्तिहरु । तस्वीर : मुकेश कुमार यादव /  मेयरसाप डट कम  


उनका परिवारले पनि आस्थाका साथ मानिरहेका भगवानको नाममा यही चैत १७ गते देखि 'श्री श्री १०८ श्री विष्णु महायज्ञ' आयोजना हुँदैछ । दिपक त्यही महायज्ञ स्थल नजिकै एउटा कुनामा सानो छाप्रोमा बस्दै आएका थिए । महायज्ञ लगाउने ठाँउ नजिकै अछूत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाको निर्देशनमा पालिकाका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसिभी लगाएर गत फागुन १० गते घर भत्काई त्यस स्थानकाे दुई फिट माटो समेत खनेर खोलामा फालेका छन् ।


थातथलो भत्काएर मलिक परिवारलाई बिस्थापित गराइए पछि सुन्दर जनता माध्यमिक विद्यालय औरहीको करिव २ धुर जग्गामा दुई कोठाको टिनले छाएको घर बनाएर राखिएको छ। त्यही घरमा उनका दुई छोरा, दुई छोरी, एक बुहारी र दिपकका श्रीमान श्रीमतीसहित सात जनाको परीवार बस्दै आएको थियो।

महायज्ञको मण्डप नजिकै रहेको दीपक मलिक डोमको घर भत्काएर माटाे खनिएकाे स्थान ।  तस्वीर : मुकेश कुमार यादव /  मेयरसाप डट कम  


३० वर्षदेखि बस्दै आएको विपन्न डोम परिवारलाई ‘जनता आवास कार्यक्रम’ ले गाउँपालिकाकै समन्वयमा ५ वर्षअघि केन्द्र सरकारको बजेटमा दुईकोठे पक्की घर बनाइदिएको थियो । तर गत फागुन १० मा गाउँपालिकाकै डोजर लगाएर घर भत्काइएको हो । यतिसम्म कि, अछूत बस्दै आएको भन्दै उनीहरूको घर भएको स्थानको माटोसमेत खनेर फालिएको छ ।


पालिकाले डोम परिवारलाई अहिले गाउँकै एकान्तमा रहेको करिब २ धुर जग्गामा बाँसको टाटी र माथि जस्ता हालेर दुईकोठे टिन र बाँसकाे अस्थायी घर बनाइदिइएको छ । बजरंगी बाबाले भनेबमोजिम गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादव आफैं आएर 'यहाँ महायज्ञ गर्नुपर्ने' भन्दै घर भत्काइदिएको अनिताले सुनाइन् ।


उनीहरूलाई सारिएको ठाउँमा खानेपानीसमेत छैन । बिजुली पनि जडान नगरिएकाले टुकी बाल्न बाध्य छन् । ‘हामी हाम्रो घरमा हाँसीखुसी बस्दै आएका थियौं,’ भक्कानिँदै अनिताले सुनाइन्, ‘तर, अहिले एकान्त सुनसान ठाउँमा बसाइएको छ, त्यहाँ आफ्नै चापाकल थियो, यहाँ पानीसमेत छैन ।’ आफूहरू कमजोर भएकाले बोल्न नसकेको र दलित भएकै कारण अपमान सहनु परेको छोरा अर्जॅनले दुःखेसो गरेका छन् ।


‘त्यहीँ रहेका अन्य जातिको घर भत्काइएन, हाम्रो मात्र घरले महायज्ञमा के अप्ठ्यारो पार्थ्यो ?’ उनले सुनाए, ‘डोम भएकै कारण हाम्रो घरमा डोजर चल्यो, छुवाछुत गर्न खोजिएको कुरा हाम्रो घर भएको ठाउँको माटो हटाइनुले पनि पुष्टि गर्छ ।’ उनका अनुसार, बुवा दीपक र आमा अनिता गाउँपालिकामै सफाइकर्मीका रूपमा काम गर्छन् । यसको विरुद्धमा बोल्दा कामबाट निकालिदिने हो कि भन्ने डरले केही पनि बोल्न नसकेको अर्जुनले सुनाए ।

घर भत्काइएपछि उनीहरूका लागि करिब ५ सय मिटर पर एकान्तमा बनाइएको बाँसको टहरा ।  तस्वीर : मुकेश कुमार यादव /  मेयरसाप डट कम  


गाउँपालिका अध्यक्ष यादवले घर भत्काएको स्विकारे पनि अछूत भएकै कारण त्यसो नगरिएको बताए । ‘उनीहरूको घर भएको ठाउँमा कृषि बजार लगाउने योजनामा गाउँपालिका छ,’ उनी भन्छन्, ‘हामीले राम्रै गर्न खोजेका छौं, यसमा धेरै विवाद गर्न आवश्यक छैन ।’


पूर्ववडाध्यक्ष दिलिपले मलिक परिवारलाई अर्को घर बनाइदिएकाले त्यहाँबाट हटाउनु गलत नभएको दाबी गरे । औरही गाउँपालिकामै घर भएका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कवुली पासवानले डोम भएकै कारण उनीहरूसँग छुवाछुत गरिएको भन्दै यसमा संलग्नलाई कारबाहीको माग गरेका छन् ।