Ad Image

बझाङको चैनपुरमा बजार अनुगमन, ८० हजार मूल्य बराबरका अखाद्य वस्तु बरामद

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1742568167.jpg

बझाङ । स्थानीय सरकारले बजार अनुगमन नगर्दा आम उपभोक्ताले अखाद्य वस्तु खान बाध्य भएका छन् । बजार अनुगमन गर्ने जिम्मेवारी स्थानीय सरकारको समेत भएपनि केही स्थानीय तहका जनप्रतिनिधिले बजार अनुगमन गर्न चासो नदिँदा त्यसको प्रत्यक्ष असर उपभोक्तालाई परेको छ । विद्यमान व्यवस्था अनुसार घरेलु तथा साना उद्योग विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले बजार अनुगमन गर्न सक्छन् । 
 
तर बझाङमा स्थानीय सरकारले बजार अनुगमनमा सक्रियता नदेखाएको उपभोक्ताहरुको गुनासो छ । स्थानीय सरकार आएपछि ग्रामीण बस्तीहरूमा रहेका पसलहरूमा अनुगमन हुन नसकेको बझाङ नागरिक समाजका अगुवा धर्मजंगबहादुर सिंह बताउँछन् ।  

स्थानीय सरकारले बजार अनुगमनमा चासो नदिए पनि घरेलु तथा साना उद्योग कार्यालय बझाङले भने बजार अनुगमन गर्दै आएको छ । बजारमा अखाद्य वस्तुहरुको रोकथाम गर्न घरेलु तथा साना उद्योग कार्यालयले बजार अनुगमन गर्न थालेको हो । शुक्रबार बझाङको सदरमुकाम चैनपुरमा घरेलु तथा साना उद्योग कार्यालयले बजार अनुगमन गरेको छ । नयाँ वर्षको लागि हुने किनबेचलाई मध्यनजर गर्दै कार्यालयले बजारको अनुगमन गरेको हो ।  

 

चैनपुरमा रहेका विभिन्न खुद्रा र होलसेल पसलहरुमा अनुगमन गर्दा ८० हजार मूल्य बराबरको अखाद्य वस्तुहरु र पेय पदार्थ बरामद गरी नष्ट गरेको कार्यालयले जनाएको छ । सो क्रममा अखाद्य तथा म्याद सकिएका विभिन्न खाद्य पदार्थ र पेय पदार्थ स–सना र खुद्रा पसलहरूबाट बरामद गरिएको घरेलु तथा साना उद्योग कार्यालय बझाङका कार्यालय प्रमुख मान बहादुर धामीले बताए ।

 

अनुगमनको क्रममा एउटै पसलबाट २५ हजार मूल्य बराबरको म्याद सकिएका सामानहरू फेला परेको थियो । होलसेल भन्दा पनि खुद्रा पसलहरुबाट बढी जस्तो अखाद्य पदार्थ तथा म्याद सकिएका सामानहरू र पेय पदार्थहरू फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र ठगुन्नाले बताए । ठूला र होलसेल ब्यापारीहरुले म्याद सकिएका र सकिन लागेका सामान र पेय पदार्थ खुद्रा ब्यापारीहरुलाई भिडाउने गरेको अनुगमनका क्रममा पाइएको छ । यस्ता प्रकारका सामान र पेय पदार्थहरु ग्रामीण बस्तिहरुमा सप्लाई गर्ने गरेको पाइएको ठगुन्नाले बताए । 

यसको रोकथामका लागी सरोकारवाला निकायहरूले ध्यान दिएर मात्र नहुने भन्दै आम उपभोत्ताहरु चनाखो हुनुपर्ने बताए । सदरमुकाम चैनपुर तथा अन्य साना बजारहरुमा रहेका होलसेल ब्यापारीहरुले म्याद सकिन लागेका र म्याद सकिएका खाद्य पदार्थ तथा पेय पदार्थ ग्रामीण बस्तिहरुमा विक्री गर्ने गरेको गुनासो आउन थालेपछि बजार अनुगमनलाई तीव्रता दिएको घरेलु तथा साना उद्योग कार्यालय बझाङका कार्यालयले जनाएको छ । 

 

यसरी पटक पटक अनुगमन गर्दा आम उपभोत्ताहरु पनि सचेत हुने र ब्यापारीहरु समेत सजक हुने भएका कारण कार्यालयले पटक पटक बजार अनुगमन गर्दै आएको जनाएको छ ।