सिरहाको निजी अस्पतालमा मुख्यमन्त्री सिंहको छड्के, १३ अस्पताल बन्द गर्न निर्देशन
२ जना कर्मचारी पक्राउ, सञ्चालकहरु फरार
मुकेश कुमार यादव
आइत, चैत १७, २०८१ | ०९:१९ बजे

सिरहा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको मिर्चैयाका अस्पतालहरुमा छड्के अनुगमन गरेका छन् । मुख्यमन्त्री सिंहले शनिबार साँझ मिर्चैयामा १४ वटा निजी अस्पताल तथा पोलिक्लिनिकको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा १३ वटा अस्पताल अवैध रुपमा चलाइरहेको भेटिएकाले उक्त अस्पतालहरुलाई बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले जानकारी दिए ।
अवैध रुपमा सञ्चालित सिद्धकामना हस्पिटल, विष्णु पोलिक्लिनिक, बालसंसार हेल्थ केयर, बालकल्याण हेल्थ केयर, समित माउन्ट हस्पिटल, एसजेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर लाई बन्द गराइएको सिंहले बताए ।

यसैगरी, शान्ति हेल्थ केयर, श्रीराम ओरल एन्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला आँखा उपचार केन्द्र, लक्ष्मी हेल्थ केयर र लाइफ लाइन क्लिनिक पनि बन्द गराइएको छ । ती अस्पतालमध्ये अधिकांश दर्ता नरहेको र कतिपय नवीकरण नै नगरी सञ्चालन गर्दै आएको भेटिएको सिंहको भनाइ छ ।

यसैगरी, मापदण्ड विपरीत सञ्चालित मनकामना मिड इस्टर्न अस्पताललाई १५ दिने पत्र काटिएको छ । यो अस्पतालले १५ बेडको मात्रै स्वीकृति पाए पनि त्यसभन्दा बढी सेवाहरू सञ्चालन गर्दै आएको पाइएको छ । अब यो अस्पतालले १५ दिनभित्र स्वास्थ्य मन्त्रालयबाट अनुगमन गराउनु पर्ने जनाइएको छ ।

अवैध रुपले सञ्चालित अस्पतालमध्ये सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ पनि गरिएको छ । अस्पतालमा बिरामी भर्ना भए पनि अनुगमन टोली जाने बित्तिकै सटर बन्द गरेर भाग्न खोजेका दुई कर्मचारीलाई प्रहरीको जिम्मा लगाइएको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले बताए ।

त्यसैगरी, मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुंगेरिया स्वीट्स एन्ड चाट हाउसको कारखाना सिल गरिएको छ । खाने कुरा बनाउँदा अखाद्य तथा कुहिएका वस्तु प्रयोग गरिएको र जथाभावी फोहोरमैला देखिएपछि कारखाना सिल गरिएको बताइएको छ ।