मेयरसाप

भरतपुर महानगरपालिका

रेणु दाहाल

स्वास्थ्य

अर्थ

शिक्षा

शिक्षक

दशरथचन्द नगरपालिका

तिलागुफा नगरपालिका

बटेश्वर गाउँपालिका

आलु

जोगराज चौधरी

संघीय सरकारका काम सफल बन्न स्थानीय तह सुदृढ हुनैपर्छ : सभापति देउवा

Mayorsap

शुक्र, फागुन २३, २०८१ | १८:२६ बजे

महोत्तरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह जनताका सबैभन्दा नजिकका सरकार रहेका बताएका छन् । आज महोत्तरीको भारतीय सीमावर्ती मनराशिशवा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उनले यहाँबाट सम्पादन हुने सेवा सरल र सहज बन्नसके जनताले असल सरकारको अनुभूति गर्न सक्ने उल्लेख गरे ।

 

“स्थानीय तह जनताको पहुँचको पहिलो सरकार हुन्, यहाँबाट जनताले पाउने सेवा, सुविधा प्रविधिमैत्री र सरल हुनसके जनप्रतिनिधि र कार्यालयबारे सकारात्मक सन्देश प्रवाह हुनेछ”, सभापति देउवाले भने । स्थानीय तह दैननदिन काममा जनतासँग सोझो सरोकारका हुने हुँदा यहाँको प्रभावकारी सेवा प्रवाहमा जनप्रतिनिधि दत्तचित्त भएर लाग्नुपर्ने पूर्वप्रधानमन्त्री रहिसकेका देउवाको सुझाव छ ।

 

कृषि क्षेत्रको विकास, स्थानीय पूर्वाधार, प्राकृतिक तथा धार्मिक सम्पदाको संरक्षणदेखि जनताका दैनिक सरोकारका काम स्थानीय तहबाट सम्पादन हुने हुँदा यहाँको कामले केन्द्रीय र प्रदेश सरकारका काम पनि जनताकेन्द्रित हुँदै जाने उनको ठम्याइ छ । सङ्घीय सरकारका काम सफल बन्न स्थानीय तह सुदृढ हुनै पर्ने उनले बताए ।

 

स्थानीय तहले स्थानीय कृषि उत्पादनको बजार प्रवर्द्धन र आधुनिकीकरणमा ध्यान दिन पर्ने उनको भनाइ छ । “स्थानीय सीपको प्रवर्द्धन, यसका लागि समुचित तालिमको व्यवस्था र रोजगारीका सम्भावना स्थानीय तहले पहिल्याउन पर्छ”, उनले भने, “खासमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखी कृषि सडक, बजार र सिँचाइको प्रबन्धमा ध्यान दिन जरूरी छ ।” यस्ता काममा सरकारसँगको समन्वयमा आफूले पहलकदमी लिने उनले प्रतिबद्धता जनाए ।

 

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विमलेन्द्र निधिले महोत्तरी जिल्ला र मनराशिशवा नगर नेपालको प्रजातान्त्रिक आन्दोलनमा सपूत जन्माउने ठाउँ रहेको चर्चा गरे । “यो (मनराशिशवा) नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा अमर सहिद मिथिलेश दुबेको जन्मभूमि हो”, निधिले भने, “यहाँ स्थानीय तहले गर्ने काम उहाँको सहादतलाई सम्झेर गर्नपर्छ । दुबेले २०३६ सालको ऐतिहासिक जनआन्दोलनमा मनराशिशवाकै कटैया थाना नजिक सहादत प्राप्त गरेका थिए । 

 

नेपाल सरकार र मनराशिशवा नगरपालिकाको रू सात करोड २८ लाख ५० हजार लागतमा निर्मित नयाँ तीनतले प्रशासकीय भवन भूकम्प प्रतिरोधी र वातानुकूलित रहेको नगरप्रमुख मोहन पाण्डेले जानकारी दिए । जम्मा २६ कोठे  भवनमा तीन सय जना अट्ने क्षमताको सभाहल र दुई वटा बैठककक्ष छन् । भवन  अपाङ्गता भएकाहरूका लागि सुविधायुक्त, महिलाका लागि नानीहरूलाई स्तनपानकक्ष र अग्नि नियन्त्रक र जल आपूर्तिको सहज व्यवस्था रहेको पाण्डेले बताए । भवन निर्माणमा ५० प्रतिशत रकम नेपाल सरकारबाट प्राप्त भएको र बाँकी नगरले व्यवस्थापन गरेको नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिए ।

 

नगरप्रमुख पाण्डेको अध्यक्षतामा सम्पन्न समारोहमा कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य महेन्द्रकुमार राय, मधेस प्रदेश सरकारमा शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी र कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले नयाँ भवन भव्य बनेझैँ सेवा प्रवाह उत्कृष्ट हुन सकोस् भन्ने शुभेच्छा व्यक्त गरे । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology