एमाले मोरङमा ओलीलाई झड्का, विद्या भण्डारी पक्षधर प्यानल नै निर्वाचित
Mayorsap
शुक्र, फागुन २३, २०८१ | २०:४२ बजे

काठमाडौं । नेकपा एमाले मोरङमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट समूहको प्यानल नै निर्वाचित भएको छ । आज आएको चुनावी परिणाम अनुसार मोरङमा भण्डारीनिकट अजम्बर राई जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्। राईसहित प्रमुख पदमा भण्डारीनिकटले जित हासिल गरेको छ।
राईले ४ सय ४६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ओझाले ४ सय ७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भण्डारीनिकट सागर थापा विजयी भएका छन् । सागर थापाले ४ सय २२ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी शान्ति लिम्बू भुजेलले ३ सय ९१ मत मात्रै पाइन् ।
सचिवमा पनि भण्डारीनिकट सोमराज थापा विजयी भएका छन्। उनले ४ सय ६२ मत प्राप्त गर्दा प्रतिस्पर्धी रविन थापाले ३ सय ६८ मत प्राप्त गरिन् । उपसचिवमा सन्तोष वान्तवा र उषा झा निर्वाचित भएका छन् । वान्तवाले ४ सय ९० र झाले ४ सय १८ मत प्राप्त गरिन् । नेकपा एमाले मोरङमा सदियौंदेखि ओलीको बर्चस्व थियो। तर अहिले मोरङको राजनीतिमा ओली समूह पराजित भएको छ।
कुनै बेला ओली समूहमा रहेका मोरङका प्रभावशाली नेता विनोद ढकालले उक्त समूह छोडेसँगै त्यहाँको राजनीतिमा नयाँ परिस्थिति देखिएको छ। पूर्वराष्ट्रपति भण्डारी पुनः राजनीतिमा आएसँगै मोरङमा ओलीको बर्चस्व धानेका नेता ढकालले ओली समूह त्यागेका थिए ।
ओलीलाई मोरङ एमालेको अधिवेशनमा प्रमुख अतिथिको रुपमा डाकिएको थियो। तर, आफ्नो टिम पराजित हुने संकेत देखिएपछि उनी अधिवेशनमा गएनन् । उनले उपाध्यक्ष रामबहादुर थापालाई पठाए ।
थापाले अध्यक्ष ओलीको सन्देश सुनाउँदै पार्टीको आन्तरिक निर्वाचनमा चुनाव नगराउने ओलीको सन्देश बाचन गरेका थिए । तर, त्यसविपरीत एमाले मोरङमा दुई समूहले चुनावी प्रतिस्पर्धा गरेका थिए ।
ओलीले पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा नगराउन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की तथा राज्य निकायहरूको भरपुर प्रयोग गरेका थिए। तर, एमालेको आन्तरिक राजनीतिक प्रतिस्पर्धामा प्रधानमन्त्री ओलीको कुनै प्रयास चलेन।
एमाले मोरङको अधिवेशन फागुन १७ गतेदेखि विराटनगरमा सुरु भएको थियो । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो । ९ सय ११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित भएको श्रेष्ठले बताए ।
पार्टीको जिल्ला नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो। बिहीबार दिउँसोबाट पार्टी कार्यालय पाञ्चालीमा सुरू भएको पदाधिकारीतर्फको मतगणना शुक्रबार साँझ सकिएको छ। पदाधिकारीतर्फको मतगणना मात्रै सकिएको छ, सदस्यहरुको मतगणना जारी छ। सदस्यहरूको मतगणना शनिबार बिहानसम्ममा सम्पन्न गर्ने तयारी छ। एमाले मोरङमा पाँच पदाधिकारीसहित जिल्ला कमिटी १ सय ६५ सदस्यीय हुने छ।