Ad Image

सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु

User Image Mayorsap | २ महिना अगाडि
Image of storage/news/1741500852.jpg

बेरुत । सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बसर अल–असदका समर्थकहरूबीच दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक हत्याहरूले मृत्यु संख्या एक हजारभन्दा बढी पुगेको एक युद्ध अनुगमन समूहले शनिबार बताएको छ ।


यो सिरियाको १४ वर्षअघि सुरु भएको द्वन्द्वपछिको सबैभन्दा घातक हिंसाको घटना हो । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सात सय ४५ सर्वसाधारण मारिएका छन् ।

 

तीमध्ये एक सय २५ जना सरकारी सुरक्षा बलका सदस्य र एक सय ४८ जना असदसँग सम्बन्धित सशस्त्र समूहका लडाकुहरू मारिएका छन् । लाटाकिया सहर वरपरका ठूलो क्षेत्रमा बिजुली र खानेपानी काटिएको अब्जर्भेटरीले बताएको छ ।

 

असदलाई सत्ताबाट हटाएपछि विद्रोहीहरूले सत्ता लिएको तीन महिनापछि बिहीबार भड्किएको झडपले दमास्कसमा नयाँ सरकारलाई ठूलो चुनौती दिएको छ ।

 

सरकारले असदका बलहरूको अवशेषबाट भएको आक्रमणको जवाफ दिइरहेको र व्यापक हिंसाका लागि ‘व्यक्तिगत कार्यहरू’ लाई दोष दिएको बताएको छ ।